
काठमाडौं, १८ पुस । राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभा शुक्रबारदेखि शुरू भएको छ ।
पहिलोपटक प्रदेशस्तरमा भौतिक रूपमा हुन लागेको वार्षिक साधारणसभा अन्तर्गत पहिलो सभा सुदूरपश्चिम प्रदेशको धनगढीबाट शुरू भएको हो । एकाई ७ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित साधारणसभाको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले उद्घाटन गरेका थिए ।
सभामुख थापाले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषि क्षेत्रमा आमुल परिवर्तन आवश्यक रहेको बताएका छन् । कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उनले सहकारीमा रहेको शीप र पूँजीलाई कृषि क्षेत्रको व्यवसायिकीकरणमा लगाउनुपर्नेमा जोड दिएका छन् ।
सहकारी क्षेत्रको प्रवर्द्धनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकको सेवालाई सुदूरपश्चिम प्रदेशको विकट जिल्लाहरूमा समेत पुर्याउनु पर्नेमा उनले जोड दिए । ‘सुदूरपश्चिम क्षेत्रको विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने तयारी गरेका छौं,’ सभामुख थापाले भने, ‘प्रदेश सरकारले सहकारी क्षेत्रको योजना निर्माण गर्दा सहकारी बैंकसँगग सहकार्य गरेर काम गर्नेछौं ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रूपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित गराउँदै समग्र सहकारी क्षेत्रको साख बढाउनु पर्नेमा जोड दिएका छन् । ‘सहकारी बैंकलाई मुख्य बैंक बनाएर उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा ध्यान दिनु पर्दछ, उनले भने, ‘कृषि, कृषक र वातावरण जोगाउने गरी सहकारी बैंकका कामलाई केन्द्रीत गर्नु पर्दछ ।’ मन्त्री तामाङले सहकारी बैंकलाई शाखा होइन, सदस्यमार्फत देशव्यापी रूपमा अगाडि बढाउने गरी वर्तमान सहकारी ऐनलाई संशोधन गर्नु पर्ने सुझाव दिएका छन् ।
साधारणसभामा धनगगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदन सिंह धामी, सुदूरपश्चिमप्रदेश प्रादेशिक बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधव प्रसाद जोशी, नेपाल बहुउद्देश्यीय सहकारी संघका सञ्चालक सुरेन्द्र कुमार शाह, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला विद्युत् सहकारी संघ कैलालीका अध्यक्ष कृष्णबहादुर खत्री, जिल्ला बचत तथा ऋण सहकारी संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट र जिल्ला सहकारी संघ बजुराका अध्यक्ष दिनेशराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा बैंकका अध्यक्ष केबी उप्रेतीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले बैंकले हालै १० वर्षे रणनीतिक योजना तर्जुमा गरेर आर्थिक वर्ष २०७९/०८० देखि आर्थिक वर्ष २०८८/०८९ सम्मको लागि विभिन्न रणनीतिक स्तम्भहरू र ध्येय तय गर्दै ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना लिई अघि बढाएको र रणनीतिक योजनाले बैंकलाई सवल, सक्षम र प्रभावकारी बताए ।
बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्म शेयर पूँजी ३ अर्ब ५० करोड, निक्षेप सङ्कलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोबार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले बताएका छन् । बैंकमा हाल ३ अर्ब शेयरपूँजी र यसलाई बढाएर ८ अर्ब पुर्याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक लक्ष्मी प्रसाद उप्रेती, विनियम तथा कार्यविधि संशोधन प्रस्ताव सञ्चालक तथा नीति नियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम प्रदेशबाट शुक्रबारदेखि शुरू भएको साधारणसभा आज (पुस १८ गते) एकाई ६ अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेत, पुस २० गते एकाई ५ अन्तर्गत लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरूका लागि बुटवल, पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरूका लागि पोखरा सभागृहमा हुँदैछ ।
त्यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमती प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरूका लागि काठमाडौं, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरूका लागि जनकपुरधाममा र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर १, का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरूका लागि मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
साधारण सभाबाट एकाई वैठकको निर्णय प्रमाणित गर्न १७ जना प्रतिनिधिहरू पनि छनोट भएका छन् । साधारणसभामा प्रस्तुत गरिएको सबै प्रतिवेदनहरू बन्दसत्रले सर्वसम्मत पारित गरेको छ ।















प्रतिक्रिया