६ कार्तिक २०८३, शुक्रबार

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ ।

प्रदर्शनी यही माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको हो । संघले हिजो मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रदर्शनीको विस्तृत जानकारी गराएको छ । प्रदर्शनीको मूलनारा ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ तय गरिएको छ ।

प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने संघले जनाएको छ । प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् ।

यसैगरी प्रदर्शनीको मुख्य प्रयोजक शलोम एग्रिकल्चर प्रालि रहेको छ भने प्रायोजकमा मुक्तिनाथ कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक छन् । त्यस्तै सह–प्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एण्ड सन्स ट्रेड, नेपालचाइनाएग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँतुल्सीग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् ।

यसैगरी सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । यो प्रदर्शनीलाई इभेन्ट संसारले व्यवस्थापन गर्ने छ ।

प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ताका २ हजार भन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ । प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले बताएको छ ।

करिब ७० जिल्लाका १ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए ।

संघले कृषकहरुलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर, बाँके, नेपाल एग्रीटिच इन्टरनेशनल एक्स्पो, २०१७ काठमाडौंको भृकुटीमण्डपमा, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवनमा भएको थियो ।

नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिने आगामी प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यावसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने बताइएको छ ।

नेपालको विभिन्न क्षेत्रमा कृषि यान्त्रीकरणसम्बन्धी व्यवसाय गर्दै आएका व्यावसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ २०७१ सालमा संघ स्थापना भएको थियो ।