– सुशिल नेपाल
पाल्पा, २ वैशाख । सामान बोक्न के को प्रयोग गरिन्छ ? भरिया, सवारी साधन, घोडा, खच्चड इत्यादि । सबैको सहज उत्तर आँउछ । बिशेष त पाल्पा जिल्लामा सवारी साधनले नै सामानहरु बोक्ने गर्दछन् ।
तर कतिपयलाई थाहा नभएको पनि होला , पाल्पा कोलडाँडाबासिहरु ‘रोप –वे’बाट सामानहरु ढुवानी गराउँदै आएका छन् । पाल्पा जिल्लाको मस्याम ४ चरचरेदेखि माथि डाँडामा रहेको बस्ती कोलडाँडा गाविस वडा नं ८ सम्म ९सय ८० मिटरको उकालो दुरिमा सञ्चालनमा ल्याइएको उक्त ‘रोप -वे’ बाट कोलडाँडा गाविस वडा नं ८ र ९ का १ सय ५६ घरपरिवारले प्रत्यक्ष लाभ लिइरहेका कोलडाँडा गाविस सचिव हरिप्रसाद पन्थि बताउँछन् ।
२०७० साल असोज महिनाबाट सञ्चालनमा ल्याइएको उक्त ‘रोप –वे’ नेपाल सरकारको १७ लाख बढी बजेटमा निर्माण भएको हो ।
बिशेष त दालचिनिमा प्रख्यात मानिने यस क्षेत्रमा त्यसको अलवा अदुवा, काउली, बन्दा, कागती लगायतका नगदेवाली तथा तरकारीको समेत राम्रो उत्पादन हुन्छ । यहाँको दालचिनी नेपालमा मात्र नभएर भारतमा समेत प्रख्यात छ ।
कोलडाँडा गाविसमा उक्त ‘रोप –वे’ सञ्चालनमा नआउँदासम्म निकै दुख थियो,त्यो सम्झँदै स्थानिय मानबहादुर दर्लामिले भन्छन ‘पहिला सामान बोकेर ३/४ घण्टाको उकालो हिँडेर जानुपथ्र्यो, तर अहिले सामान पठाएको १ मिनेटमै पुर्याउन सकिन्छ ।’ मस्याम ४ चरचरेबाट पारि खोला तरेर ३/४ घण्टाको जंगलको उकालो बाटो हिँडेपछि उक्त बस्तिमा पुग्न सकिन्छ ।
बाह्रैमहिना सवारिसाधन सञ्चालनमा आउँन नसक्दा त्यहाँ उत्पादन भएका कृषिजन्य सामानहरु सकि नसकी बोकेर झर्नुपर्ने समस्या ‘रोप -वे’ सञ्चालनमा आएपनि सहज भएको स्थानियहरु बताउँछन् । सामान ल्याउन र बजारबाट सामान लैजानका लागि ‘रोप -वे’ को प्रयोग गरेपनि सामान पठाएपछि स्थानियहरु भने हिँडेर नै आवतजावत गर्दछन् ।
सामानको बाहिर नाम लेखेर टाँसेर सामान पठाउँछन जुन सामान स्टेशनमा सुरक्षित राखिन्छ र पछि आफुहरु गएर लैजान्छन । यसलाई कसैले तुइन भनेर बुझछन भने कसैले घिर्नी । ज-जसले जे भनेर बुझेपनि नेपाल सरकारले भने यसको नाम ‘रोप –वे’ राखिदिएको छ ।
‘तल्लो स्टेशन र माथिल्लो स्टेशन’ नाम दिई तलबाट २५ केजी सामान पठाउँदा माथिबाट ९० किलोको अनुपातमा सामान पठाउनुपर्ने ‘रोप –वे’का मेसिन अपरेटर कर्मचारी धनबहादुर आलेले बताए ।
उनले भने ‘सामान लोड भएपछि तारमा दुइपटक हान्छौं जसको कम्पनले माथिल्लो स्टेशन र तल्लो स्टेशनबीच सामान लोड भयो भन्ने जानकारी हुन्छ र त्यहिअनुसार सामान पठाउँछौ ।’सामान पठाउँदा प्रतिकेजी १ रुपैयाँ निर्धारण गरीएको छ ।
















प्रतिक्रिया