६ कार्तिक २०८३, शुक्रबार

ललितपुरलाई विश्वको कला नगरी घोषणा गरिए पनि काम हुन सकेन : उद्योगी–व्यवसायी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १० पुस । ललितपुरलाई विश्वको ३५औं कला नगरी घोषणा गरिए पनि ठोस काम हुन नसकेकोप्रति ललितपुरका उद्योगी–व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको हिजो शुक्रबार सम्पन्न ४२औं साधारणसभाका वक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरूले ललितपुरलाई विश्वको ३५औं कला नगरी घोषणा गरिए पनि सोही अनुरुप ठोस काम हुन नसक्दा हस्तकला व्यवसाय मारमा परेको बताएका हुन् ।

हस्तकला घोषणा गरिए पनि सोही अनुरुप काम हुन नसक्दा पुस्तौंदेखि हस्तकला, काष्ठकला, प्रस्तर कला, सुनचाँदी व्यवसायमा विस्तारै संकटमा पर्न थालेको र कुनै व्यवसाय विस्थापित हुने खतरामा रहेको उनीहरूको भनाइ छ ।

‘मल्लकालीन समयदेखि नै समृद्ध अर्थतन्त्रको आधारका रुपमा हस्तकला जन्य उत्पादनलाई लिइन्छ । अहिले आएर ती उत्पादनहरूको स्वरुप कुनै बृहतस्तरमा छन् भने कु्नै सानास्तरमा वा विस्थापित हुने अवस्थामा पुगेको छ,’ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले भने ।

वर्ल्ड क्राफ्ट काउन्सिलले तीन वर्षअघि ललितपुर नगरलाई हस्तकला नगरीको रुपमा घोषणा गरेको उल्लेख गर्दै अध्यक्ष न्याछ्योंले भने, ‘यस क्षेत्रमा अपेक्षाकृत काम हुन सकेन । यस विषयमा सबैको ध्यान आकृष्ट गराउन चाहन्छौं ।’

हस्तकलाजन्य सामग्रीको प्रयोगमा बढावा दिन पनि अध्यक्ष न्याछ्योंले ललितपुरका स्थानीय तह समक्ष माग गरे । हस्तकलासँगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री, खाद्य एवम् पेय पदार्थलाई ब्राण्डिङ गरी विक्री गर्न सकिने अवस्था रहेको हु्ँदा त्यसको व्यवस्था मिलाउन संघ, प्रदेशसँगै स्थानीय तह बढी दायित्व लिनुपर्ने पनि अध्यक्ष न्याछ्योको धारणा छ ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुरको लुभुमा कपडा उद्योगको विशेष क्षेत्र र हस्तकला ग्राम बनाउनुपर्ने खाँचो औल्याउँदै त्यसका लागि पहल भइरहेको बताइन् । ‘महालक्ष्मी नगरपालिका क्षेत्र,गोदावरी नगरपालिका क्षेत्रमा दुई वटा विशेष क्षेत्र बनाउनुपर्ने देखिन्छ । डुकुछाप हस्तकलाको क्षेत्र बनाउने तयारी भइरहेको छ,’ मन्त्री भुसालले भनिन् ।

उनले ललितपुरलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्नुपर्ने बताउँदै पर्यटन र हस्तकला नै अर्थतन्त्रको मुख्य आधार रहेको विचार व्यक्त गरेकी छिन् ।

समारोहमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्य हस्तकला विकासको चर्चा गरिए पनि व्यवहारमा ठोस काम हुन नसकेकाले हस्तकला व्यवसायीहरु पलायन हुने अवस्थामा रहेको बताइन् । आफू पनि हस्तकला व्यवसाय गर्दै  राजनीति प्रवेश गरेको उल्लेख गर्दै उनले हस्तकला व्यवसायीहरुले अहिले भोग्नु परिरहेको समस्या समाधान गर्न राज्यले गम्भीर पहल नगरेको बताएकी छिन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले २४ घण्टा उज्यालो हुने गरी स्मार्ट बत्ती जडान गरिएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्ने गरी रात्रीकालीन व्यवसाय गर्न पनि उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै जिल्ला नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठले ललितपुर जिल्लालाई हस्तकलाको जिल्लाको रुपमा विकास गर्न निजी क्षेत्र, हस्तकला व्यवसायी सबै मिलेर कार्ययोजना बनाउनुपर्नेमा हालसम्म सो काम हुन नसकेको धारणा व्यक्त गरे ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान महर्जनले जिम्मेवार पक्षले समय समयमा व्यक्त प्रतिबद्धताअनुरुप काम हुन नसकेकाले कोरोना महामारीले संकटमा परेको व्यवसाय झन् मारमा परेको बताएका छन् ।