१० कार्तिक २०८३, मंगलबार

विद्युत् प्राधिकरणको चरम लापरबाहीले गयो केदारको ज्यान

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काभ्रे, २९ मंसिर । नेपाल विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण काभ्रेका एक युवाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पनौती नगरपालिका–५ का केदार पुटुवार छन् । पनौती–५ स्थित चौकोटमा बिजुलीको पोलमा तार मिलाउने क्रममा ११ हजार भोल्टको करेन्ट लाग्दा सोमबार अपराह्न पुटुवारको मृत्यु भएको हो ।

लत्रिएको तार व्यवस्थापन गर्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । विद्युत् प्राधिकरणकै निर्देशनमा पुटुवार तार व्यवस्थापन गर्न गएको तर प्राधिकरणको लापरबाहीका कारण व्यक्तिको ज्यान गएको उनीहरूको दाबी छ ।

‘चौकोटस्थित राउत गाउँ जाने बाटोमा बिजुलीको तार चुँडिएको रहेछ । बिजुलीको तार चुडिएपछि स्थानीयले विद्युत् प्राधिकरणलाई खबर गरेका थिए । विद्युत् प्राधिकरणका कर्मचारीले चुँडिएको तार मर्मत गरिदिएका थिए,’ घटनाबारे पनौती–५ का वडा अध्यक्ष श्रीधर कुइँकेलले भने, ‘मर्मत गरिएको तार भुइँमा लत्रिएपछि त्यसको व्यवस्थापनका लागि स्थानीयले पुनः प्राधिकरणलाई खबर गरे । प्राधिकरणले पोल राखेर स्थानीयलाई नै व्यवस्थापन गर्न निर्देशन दिएपछि घटना भएको हो ।’

स्थानीय पुटुवारले प्राधिकरणकै निर्देशन अनुसार लत्रिएको तार व्यवस्थापन गरेको कुइँकेलको दाबी छ । लत्रिएको तार व्यवस्थापनका क्रममा ११ हजार भोल्टको तारमा छुन पुग्दा उनको मृत्यु भएको हो । घटनामा अर्का स्थानीय कवि नेपाली घाइते भएका छन् ।

विद्युत् प्राधिकरणको लापरबाहीकै कारण घटना घटेको वडा अध्यक्ष कुइँकेलको भनाइ छ । तर, घटनामा प्राधिकरणको कुनै दोष नभएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र बनेपा शाखा प्रमुख ध्रुवराज कार्कीको दाबी छ ।

‘स्थानीय आफैले तार व्यवस्थापन गर्दा तारले माथि ११ हजार भोल्टको लाइनमा छुँदा घटना घटेको हो,’ शाखा प्रमुख कार्कीले भने, ‘यसमा विद्युत् प्राधिकरणको कुनै गल्ती छैन । विद्युत् प्राधिकरणले कुनै निर्देशन पनि दिएको छैन ।’

स्थानीयले आफूखुशी तार व्यवस्थापन गर्दा उक्त घटना घटेको उनको दाबी छ । यद्यपि, चुँडिएको तार मर्मतपछि लत्रिएकै अवस्थामा छोडेर हिँड्नु प्राधिकरण कर्मचारीको चरम लापरबाही देखिन्छ ।