जाजरकोट, १ वैशाख । जिल्लामा दुई सातादेखि फैलिएको अज्ञात रोग भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा सो रोग भाइरल इन्फ्लुएन्जा रहेको प्रमाणित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार सरसफाइको कमी, शुद्ध खानेपानीको अभावलगायत कारणले रोगको सङ्क्रमण बढेको हो । हाछिउँ गर्दा, खोक्दा रोग सर्ने भएकाले यसतर्फ सर्वसाधारणलाई सचेत रहन उहाँले आग्रह गनुभयो ।
इन्फ्लुएन्जाका गम्भीर बिरामीलाई ‘टाइमी फ्लु’ औषधि जिल्लामा पठाइएको र थप औषधि पठाउने तयारी भइरहेको छ । चिकित्सकका अनुसार उक्त औषधि गर्भवती, दमका रोगी र दीर्घ रोगीले खान हुँदैन ।
रोग नियन्त्रणमा आएको दाबी
यसैबीच, स्वास्थकर्मीहरूले पैंक, अर्छानी, टालेगाउँ, सक्ला, पजारु र नायकवाडामा फैलिएको रोेग अहिले नियन्त्रणमा आएको दाबी गरेका छन् ।
स्थानीयहरूले भने टाउको दुख्ने ज्वरो आउने, वान्ता आउने र हातखुट्टा झमझमाउने रोगका कारण सर्वसाधारणको ज्यान गएको र अहिले पनि सयौंको सङ्ख्यामा बिरामी परेको बताएका छन् । आजै मात्र टाले गाउँमा चार जनाको ज्यान गएको खबर आएपछि सदरमुकाम खलङ्गाबाट नेपाली सेनाका चिकित्सकको टोली त्यसतर्फ खटाइएको प्रजिअ बस्नेतले बताउनुभयो ।
अहिले प्रकोपबाट सबैभन्दा बढी प्रभावित पैंक गाविसमा औषधिको अभाव रहेको बताइएको छ । औषधि अभाव भएपछि थप औषधि काठमाडौँ र नेपालगन्जबाट ल्याउन लागिएको छ ।
उता पश्चिमी क्षेत्रमा पर्ने टालेगाउँ गाविसमा रहेको स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख प्रेमा लामाले बताउनुभयो ।
इन्फ्लुएन्जाका कारण मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ भने सयौँ बिरामी रहेका छन् । रासस













प्रतिक्रिया