रुकुम, १ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले संविधानले विकासको नयाँ ढोका खोल्ने बताउनुभएको छ ।
रुकुमको दुर्गम तकसेरा गाविसमा आयोजना गरिएको आदिवासी जनजाति कला सांस्कृतिक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले अबको युग विकासको युग भएको हो भन्नुभयो ।
नयाँ संविधान जारी भएसँगै विकासले गति लिने र यस अभियानका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।
राणा शासन, पञ्चायती व्यवस्था तथा राज संस्था ढलिसकेको अवस्थामा दलहरुसामु लडाईं झगडा होइन विकास मुख्य एजेन्डा बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । “तपाईं हामी केका लागि र कोसँग लडाईं झगडा गर्ने हो ?” प्रधानमन्त्रीले भन्नुभयो – हामी सबै एक भएर नेपालको उन्नति विकासका लागि लाग्न जरुरी छ ।”
प्रधानमन्त्री कोइरालाले बगिरहेको पानीलाई पैसामा रुपान्तरण गर्न लागिपर्नुपर्नेमा पनि जोड दिनुभयो । “नेपालमै डलर फलाउन सकिन्छ त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट लागौँ,” प्रधानमन्त्रीले भन्नुभयो ।
अर्को एक प्रसङ्गमा प्रधानमन्त्री कोइरालाले समयमै संविधान आउने विश्वास दिलाउनुभयो । संविधान आओस् भन्ने चाहना सबैको रहेको बताउँदै उहाँले त्यसका लागि योगदान गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “सहमतिमा संविधान निर्माण गर्ने त तपार्इंहरुले भन्नुहुन्छ । त्यसका लागि छलफलमा त बस्नुपर्यो नि !” रासस












प्रतिक्रिया