१३ कार्तिक २०८३, शुक्रबार

सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarmatha-Himal

काठमाडौँ, ३० चैत । सर्वोच्च शिखर सगरमाथामा छैटौँ पटक आरोहण गरी विश्वकीर्तिमान बनाएकी लाक्पा शेर्पाले सातौँ पटक सगरमाथा आरोहण गरी आफ्नो रेकर्ड आफै तोड्ने भएकी छन् ।

सङ्खुवासभा मकालु–५ निवासी शेर्पाले पहिलो पटक सन् २००० मा सगरमाथा आरोहण गरी निरन्तर सन् २००६ सम्म छ पटक सफल आरोहण गरी महिलाको तर्फबाट सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमानी रेकर्ड राखेकी थिइन् ।

हाल अमेरिकामा बसोबास गर्दै आएकी ३२ वर्षीय शेर्पाले पारिवारिक बाध्यताका कारण सन् २००६ बाट आरोहण स्थगित गरेकी थिइन् ।

आरोही शेर्पाले मङ्गलरदेखि आरोहण सुरु गरी १८ गते सम्पन्न गर्ने लक्ष्य लिएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

आरोही शेर्पाका साथ यसअघि आठाँै पटक सगरमाथा आरोहण गरेका उनका भाई मिङमा शेर्पाले पनिसँगै सगरमाथा आरोहण गर्ने जनाइएको छ ।

सगरमाथाको चुचुरोमा संस्थाको झण्डा फहराउन एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले दुबै आरोहीलाई झण्डा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष शेर्पाले नयाँ कीर्तिमान बनाउन लागेकोमा आरोही शेर्पालाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

आरोही शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विदेशीलाई नेपाली महिलाको बहादुरी देखाउन र नेपालमा धेरै पर्यटक भित्र्याउन सन्देश पुगोस् भन्ने उद्देश्यले आरोहण गर्न लागेको बताउनुभयो ।

सन् २००१ मा केटु हिमाल हारोहणका क्रममा क्याम्प–२ मा पुगेर बिरामी भएकोे अनुभव सुनाएकी आरोही लाक्पाले सगरमाथाको उत्तरी र दक्षिणी दुबै दिशाबाट सगरमाथाको सफल आरोहण गरेकी थिइन् । रासस