काठमाडौं, ३० चैत । सरकारले तत्काल आठ मुलुकमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने भएको छ ।
कतारको समस्या देखाउँदै अन्य सात स्थानमा समेत राजदूत नियुक्तिमा ढिलाई गर्दै आएको सरकारले प्रक्रिया अघि बढाउन लागेको हो ।
विवादास्पद अभिव्यक्ति दिएको अभियोगमा सरकारबाट बर्खास्तगीमा परेकी कतारका लागि नेपालको राजदूत मायाकुमारी शर्माको रिट खारेज भएपछि सरकारलाई कतारसहित आठवटै मुलुकमा राजदूत नियुक्तिको बाटो खुलेको हो ।
आफूलाई बिनाकारण बर्खास्त गरिएको भन्दै पुर्नबहाली हुनु पर्ने मागका साथ गत वर्ष दायर गरेको उनको रिटको अन्तिम सुनुवाइ गर्दै प्रधान न्यायाधीश रामकुमारप्रसाद शाह र ओमप्रकाश मिश्रको आइतबार बसेको संयुक्त इजलाशले यस्तो निर्णय गरेको कान्तिपुर दैनिकले छापेको छ ।
सार्वजनिक समारोहमा कतारलाई खुल्ला जेल भने बापत कतार सरकारको आपत्ति पछि सरकारले शर्मालाई फिर्ता बोलाएको थियो । त्यस विरुद्ध उनले सर्वोच्चमा रिट दिएकी थिइन् ।
तत्कालिन न्यायाधीश प्रकाश वस्ती र वैद्यनाथ उपाध्याको संयुक्त इजलाशले २०७० असोज १८ गते उनको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिदिएकोले कतारमा अर्को राजदुत पठाउन सरकारलाई असहज भएको थियो ।
अदालतमा विचाराधीन मुद्दा भएकाले राजदूत शर्मालाई हटाए पनि सरकारले अर्को नियुक्ती गर्न नसक्दा झण्डै पाँच लाख नेपालीको श्रमस्थल कतारसँग कुटनीतिक सम्बन्ध टुटे सरह भएको थियो ।
सर्वोच्चको यो आदेशसँगै अब राजदूतका लागि शर्माको दाबी पनि खारेज भएको छ भने सरकारलाई नयाँ राजदूत नियुक्त गर्ने मार्ग प्रशस्त भएको हो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, ‘अव छिट्टै कतार सहितको मुलुकमा राजदुत नियुक्ति प्रक्रिया अघि बढ्छ ।’
सरकारले इजिप्ट, श्रीलंका, ब्राजिल, कतार, जर्मनी, बेलायतमा राजदूत खाली छन् । भने ओमान र बहाराइनमा चार्च डि अफेर्यस स्तरमा खोलिएको दुवतास लाई पनि राजदूत स्तरमा स्तरोउन्नती गर्ने बताउँदै आएको छ ।
यसो भएमा सरकारले आठ स्थानमा राजदूत नियुक्ति गनृ पर्ने हुन्छ । सरकारले अव राजदुत नियुक्ति प्रक्रिया अघि बढाउँदा साउदी अरेविया, जापान र बंगलादेशमा पनि नियुक्ति गर्न सक्नेछ ।
राजदूतको कार्यकाल सकिनु छ महिना अघि हरहिसावको लागि पत्र जाने गर्छ । त्यो अनुरुप साउदीस्थित राजदूतलाई पत्राचार भइसकेको छ ।
मंसिरमा सकिने हुनाले जापान र बंगलादेशमा भने एक महिना पछि पत्र जाने परराष्ट्र अधिकारीले बताए ।
छ महिना अघि सरकारले परराष्ट्र सेवाबाट छ राजदूत नियुक्त गरेको थियो भने सेवा बाहिरबाट दुई मुलुक भारत र अमेरिकामा गत साता नियुक्त गरेको हो ।
अव हुने नियुक्तिमा आठ स्थानमा राजनीतिक नियुक्ति हुनेछ जसमा भागवण्डा पनि अर्को समस्या रहेको छ ।
त्यस्तै खाली हुने भनिएको तीन स्थानमा पनि परराष्ट्र सेवा र बाहिरकोमा नियुक्ति बीचमा पहिलो भागवण्डा अनि उनीहरु बीचमा भागवण्डा हुनेछ ।















प्रतिक्रिया