
काठमाडौँ, ६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव बाहिरिएपछि पार्टी सही अगाडी बढेको बताएका छन् ।
शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए । उनले भने, ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’
त्यस्तै, अध्यक्ष ओलीले सत्तारुढ पाँच दलले बनाएको गठबन्धन प्रतिगामी भएको पनि बताएका छन् ।
‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो’, ओलीले भने । प्रतिगामी गतिविधिहरुको डटेर सामना गर्न ओलीले कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
त्यस्तै, अध्यक्ष ओलीले वडा अधिवेशन एकतापूर्वक सफल रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै यो अधिवेशन ऐतिहासिक भएको बताए ।
‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’
आत्मविश्वास, दृढता र सक्रियताका साथ पार्टी अगाडि बढिरहेको ओलीको भनाइ छ । ‘बाढी पहिरोका कारण रोकिएको ठाउँमा पनि छिट्टै हुनेछ । आठ हजारभन्दा बढी कमिटी देशभरी परिचालित हुनेछन् । त्यसबाहेक जनसंगठन र वर्गीय संगठन पनि पार्टीले नै परिचालित गर्ने हो’ उनले भने ।
ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले सानदार तरिकाले बहुमत ल्याउने गरी तयारी गरिरहेको बताउँदै भने, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौँ । त्यस अनुसारले आन्दोलनमा जुट्न म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु । एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अव कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरु कमजोर हुँदै गएका छन् । तीनका आवाजहरू सुक्दै गएका छन् । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अव एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरू चलाइए । तर म कमरेडहरूलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो । यी बलेसीका पानीका फोका हुन, तीनका आयु लामो छैन । तिनीहरूले हामीलाई बदनाम गर्न खोजे । चरित्र हत्या गर्न खोजे । हाम्रा विरोधीहरूका चाहना उनीहरूको आवश्यकता पूरा गर्ने होइन, हामीले हाम्रा अभिभार पूरा गर्ने हो । त्यो काम हामी गर्छौँ ।’












प्रतिक्रिया