काठमाडौँ, २९ चैत । नेकपा एमालेले प्रधानमन्त्री सुशील कोइरालाको आडमा प्रहरी प्रमुख र पश्चिमाञ्चल डीआइजीले बागलुङको संविधानसभा उपनिर्वाचनमा शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र पश्चिमाञ्चल प्रहरी प्रमुख (डीआइजी) पंकज श्रेष्ठले बागलुङमा आफ्ना कार्यकर्तामाथि दमन गरिएको एमालेको निष्कर्ष छ । ‘प्रधानमन्त्री, प्रहरी प्रमुख र पश्चिमाञ्चलका डीआइजीले बागलुङको चुनाव आफै कमाण्ड गरेका छन्,’ एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले दैनिक नेपालसँग भने, प्रधानमन्त्रीको आडमा सत्ताको चरम दुरुपयोग भएको छ । गृह मन्त्रालयको चेन अफ कमाण्डलाई नामेट गर्ने दुस्साहस भएको छ । यसको हामी निन्दा र भर्त्सना गर्दछौँ । काँग्रेसको नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउन सक्दैन भन्ने उदाहरण पछिल्लोपटक बागलुङको उपनिर्वाचनले पुष्टि गरेको छ ।’
एमाले केन्द्रीय सदस्य थापाले प्रधानमन्त्रीकै आडमा प्रतिस्पर्धी पार्टीका कार्यकर्तालाई धरपकड गर्ने, लाइनमा बसेका बेला पक्राउ गर्ने काम भएको दाबी गरे ।
एमालेले कुनै पनि पार्टीका कार्यकर्तामाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नरहेको भन्दै बागलुङको धम्जामा जनमोर्चामाथि भएको आक्रमणको समेत खण्डन गरेको छ । ‘राष्ट्रिय जनमोर्चाका धम्जाका गाउँ समितिका अध्यक्षमाथि एमालेले आक्रमण गरेको भन्ने कुरा भ्रामक हो । हाम्रो कहिल्यै पनि राष्ट्रिय जनमोर्चामाथिको आक्रमणको कल्पना पनि गर्दैन । अरु पार्टीमाथि पनि आक्रमण गर्ने हाम्रो नीति छैन ।,’ एमाले केन्द्रीय सदस्य थापाले भने, ‘ बागलुङमा जनमोर्चासँग चुनावी प्रतिद्वन्द्विता पनि थिएन्, व्यक्तिगत पारिवारिक निहुँमा आफ्नै भतिजाले काकालाई आक्रमण गरेको कुरालाई राजनीतिकरण गर्ने दुस्प्रयास भएको छ ।’
पैसा बाँड्दै दलिल समुदायको भोट किन्न खोजेको भन्दै एमाले कार्यकर्ताबाट काँग्रेसका एक जना कार्यकर्ता कुटिएका थिए । त्यसलगत्तै प्रशासनले शनिबार मतदानस्थलबाटै छ जना एमाले कार्यकर्ता पक्राउ गरेको थियो । कार्यकर्ता रिहाको माग गर्दै एमालेले शनिबार साँझ निकालेको जुलुसमा प्रहरी हस्तक्षेप हुँदा १२ जना भन्दा बढी घाइते भएका छन् ।
बागलुङमा प्रधानमन्त्रीले सत्ताको दुरुपयोग भएको बताइरहँदा गृहमन्त्री वामदेव गौतम भने अहिले कतारमा छन् ।













प्रतिक्रिया