लाइवान, १६ असोज । ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ ।
ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू एअर डिफेन्स आइडेन्टीफिकेसन जोन भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ ।
लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ ।
चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ ।
ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ ।
‘चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ’, ताइवानका प्रधानमन्त्री सु जिन चाङले शनिवार सम्वाददाताहरूसँग भनेका छन् ।
बेइजिङस्थित चीन सरकारले यो समाचार तयार पार्दासम्म घटनाबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।
यसअघि उसले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध लक्षित रहेको बताएको थियो ।
ताइवानको रक्षा मन्त्रालयले वक्तव्य मार्फत २५ चिनियाँ पिपुल्स लिवरेसन आर्मीका विमानहरू आफ्नो दक्षिण पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीमा प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको छ ।
त्यस लगत्तै शुक्रवार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरू ताइवान र फिलिपिन्सको समुद्रमाथि उडेका थिए । बीबीसी















प्रतिक्रिया