
काठमाडौँ, १६ भदौ । एकेन्द्र गुरुङको सम्पादनमा ‘बेलायतमा नेपाली गीत’ पुस्तकको विमोचन गीतकार एवं संस्कृतिविद् एकेन्द्र गुरुङद्वारा सम्पादन गरिएको ‘बेलायतमा नेपाली गीत’ पुस्तकको एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
पूर्वप्रधानाध्यापक समेत रहेका गुरुङको ‘माया पिरती थेनो शिरमाथि’ गीत सर्वाधिक चर्चाको गीतमध्ये एक हो । गुरुङ साहित्यिक मञ्च नेपालद्वारा प्रकाशित उक्त पुस्तक नेपाली मेलाको अवसर पारेर बेलायतमा बिमोचन गरिएको संस्थाका अध्यक्ष गौरी गुरुङले बताए ।
उनले बेलायतमा रहेर गीत लेख्दै आउनुभएका सम्पूर्ण गीतकारलाई बधाई दिएका छन् । उनका अनुसार यो कृति गुरुङ साहित्यिक मञ्च नेपालद्वारा प्रकाशित पाँचौ कृति हो ।
अगष्ट ३० तारिखका दिन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र तमु धीं युकेका अध्यक्ष हितकाजी गुरुङले संयुक्त रुपमा विमोचन गरेका थिए ।
पुस्तकमा अधिकांश बेलायतवासी गीतकार एवं स्रष्टाका गरी करिब ८० जनाका सिर्जना समेटिएको छ । एकेन्द्र गुरुङको धर्तीमा जून, मनको तरंगलगायतका कृति प्रकाशित छ ।
एकेन्द्र गुरुङले यसै पुस्तकबाट भनी आवरणमा २ हरफ उतारेका छन् ।
बेलायतमा सबैले आ–आफ्नो जातीय भाषाहरू बोल्न छाडेका छैनन् । नेपाली भाषा बोल आफ्ना केटाकेटीहरुलाई प्रेरित गरिरहन्छन् । नेपाली चाडपर्वहरू दसैं, तिहार, ल्होछार, माघेसंक्रान्ति, उभौली, उधौली, सिली, साकेला, माघी र म्हः पूजालगायत सबै आस्था र विश्वासका साथ मनाउँछन् । साथसाथै देउसीभैलो, चण्डीनाच, धाननाच, स्वानाच, पौटु, सोरठी, सालैजो र लोकदोहोरी पनि बेलायती रंगमञ्चमा सुन्न र देख्न पाइन्छ । प्रत्येक वर्ष तमु धिं यूकेले आयोजना गर्ने नेपाली मेलामा प्रस्तुत गरिने झांकी र सांस्कृतिक कार्यक्रमले नेपाली संस्कृति, कलार पर्यटनको संरक्षण र प्रबर्द्धन भइरहेको छ ।
गीत, साहित्यको एउटा सशक्त विधा हो । यसलाई संसारकै पुरानो र लोकप्रिय विधा मानिन्छ । यसले मानिसको अनुभूति र विचारलाई सटिक दंगले अभिव्यक्त गर्दछ । गीत सबैको मनमुटुमा बाँच्न सक्छ । कतिलाई रूवाउँछ, कतिलाई हसाउँछ । संगीतको सुमधुर लय, वाद्ययन्त्रको उचित संयोजन अनि गायकको सुमधुर स्वरले गीतलाई जीवन्त बनाउँछ । ‘गै’ धातुमा ‘त्त’ प्रत्यय लागेर गीत शब्द बनेको छ । गीत शब्द संस्कृतबाट आएको हो । शाब्दिक अर्थमा गीत भनेको शब्द, संगीत र स्वरको त्रिवेणी हो । गीत शब्दहरुलाई संगीतको, धुनको सौन्दर्यले सिगारिएको माला हो । गीत संगीतबद्ध गरिएको रचना हो ।












प्रतिक्रिया