विराटनगर, १२ भदौ । एमालेमा रहँदा माधव नेपाल समूहले समानान्तर ढंगले निर्माण गरेको विराटनगर महानगर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ ।
माधव नेपाल पक्षले पारुल क्षेत्रीको अध्यक्षतामा विराटनगर महानगर कमिटी गठन गरेको थियो । बुधबार बसेको बैठकले १७५ सदस्यीय सिंगो कमिटी एकीकृत समाजवादीमा रुपान्तरित हुने सर्वसम्मत निर्णय गरेको क्षेत्रीले बताए ।
कमिटीको बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को निर्माण गरिएको बताए ।
कम्युनिष्ट आन्दोलन एवम् पञ्चायती व्यवस्थाको विरोधमा आफू १५ वर्ष जेल परेको र क्रान्तिको लागि जेल ब्रेक गर्ने कार्य गरेको तर आफूहरूसँगै जेल परेका केपी ओलीले दरबारियासँग साँठगाँठ गरेको उनले आरोप लगाएका छन् ।











प्रतिक्रिया