हेटौँडा, ५ भदौ । मकवानपुर जिल्लाको हेटौंडा उप–महानगरपालिका–१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा सोही उप–महानगरपालिका–१० राप्तीरोड बस्ने २५ वर्षीय सन्दीप जोशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
साउन २३ गते दिउँसो सोही उप–महानगरपालिका–२ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने ठाउँबाट ६५ लाल सुन र ९६ हजार रुपैयाँ चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न जोशीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उता, वीरगञ्ज महानगरपालिका–८ पानीट्याङ्कीस्थित प्रभु अस्पताल अगाडि पार्किङ गरी राखेको प्रदेश २– ०३– ००८ प ७१३६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बारा कोल्हवी नगरपालिका–६ बस्ने २२ वर्षीय जितबहादुर चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
चौधरी समेत २ जनाले मास्टर साँचो बनाई उक्त मोटरसाइकलको लक खोली चोरी गर्दै गरेको अवस्थामा फेला पारी प्रहरी चौकी बसपार्क, वीरगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्नमध्ये जित बहादुरलाई पक्राउ गरेको जनाएको छ ।
उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको तथा फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।















प्रतिक्रिया