
काठमाडौं, १६ साउन । सरकारले आगामी चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शुक्रबार एक विज्ञप्ति जारी गर्दै दिएको जानकारी अनुसार सरकारले आगामी चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको र असोज मसान्तभित्र थप ८६ लाख मात्रा प्राप्त हुने जनाएको छ ।
५४ लाख १ हजार ६८६ जनाले खोप लगाइसकेका छन् । कोभ्याक्स सुविधाको १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैतसम्म सबै खोपको पहुँचमा पुग्ने मन्त्रालयले जनाएको छ । १२ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीलाई अमेरिकाबाट फाइजर खोप खरिद गरेर लगाउने योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।
कोभ्याक्सबाट लागत सहभागितामा १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप खरीद प्रक्रिया सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको जनाएको छ । ‘गाभी कोभ्याक्सबाट २० प्रतिशत जनसंख्याका लागि निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीको पहुँचमा पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतको कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जान्सेन ल्याइएकामा १६ लाख २१ हजार ७५४ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । पहिलो डोज मात्रै लगाउने ३७ लाख ७९ हजार ९३२ जना छन् । १८ लाख २८ हजार ४८४ जना भने कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन् ।
भारतको सिरम इन्स्टिच्युटबाट २० लाख खोप खरिद गर्न सरकारले अग्रिम भुक्तानी दिए पनि १० लाख डोज खोप अझै आएको छैन । स्वास्थ्य मन्त्रालयले यो खोप असोज मसान्तसम्म आइसक्ने दाबी गरेको छ ।
















प्रतिक्रिया