काठमाडौँ, २५ चैत । एमाओवादी नेता वर्षमान पुन (अन्नत) ले आफूहरुको बन्दमा कडा रुपमा प्रस्तुत हुने प्रहरीलाई सरकारमा गएपछि जागिर खाइदिने धम्की दिएपछि प्रहरी वृत्तमा चर्चाको विषय बनेको छ ।
काठमाडौँको बिजुलीबजारमा मंगलबार प्रहरी र बन्दकर्ताहरुबीच झड्प भएपछि बानेश्वर वृत्तका डिएसपी दानबहादुर कार्कीसहितका प्रहरी अधिकारीहरुलाई बर्षमानले धम्क्याएका हुन् ।
बर्षमानले बन्दमा सहयोग गरे आफूहरु सरकारमा गएपछि सरुवा तथा बढुवामा सहयोग गर्ने भन्दै सडकमै फकाएको स्रोतले बतायो । उनको कुरा सुन्नासाथ प्रहरी अधिकारीहरु हाँसेका थिए । एमाओवादी नेताहरुले अनेक कोसिस गर्दा पनि प्रहरीले बिजुलीबजारमा प्रहरीले बन्दकर्ताको उछृंखल क्रियाकलापमा हस्तक्षेप गरेको थियो । सोहीक्रममा झडप समेत भएको थियो ।

अझ एमाओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराईले फेसबुक र ट्वीटरमा ‘काठमाडौंको बिजुलीबजारमा अत्याधिक बल प्रयोग गर्दै गोली प्रहार गर्दा बिद्यार्थीहरु रामप्रसाद खनाल, राम कार्की लगायतलाई टाउकामा चोट’ भन्दै लेखेपछि सामाजिक सञ्जालमा उनलाई गाली बर्षा भएको थियो ।
प्रहरीले डा. भट्टराईको भनाइको खण्डन समेत गरेको छ । मंगलबारको बन्दमा अश्रुग्यास मात्र प्रयोग गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीको भनाइ छ ।

के भन्छन् सुरक्षा मामिलाका जानकार ?
न्युयोर्कमा सुरक्षा मामिलामा अध्ययन गरिरहेका राधाकृष्ण देउजा प्रहरीप्रति गरिएको व्यवहारलाई यसरी टिप्पणी गर्छन्:
भागवण्डाको चिन्तन पनि कस्तो नराम्रोसँग झांगिएछ खै ? अव त प्रहरीलाई पनि राजनीतिक दलसँग निकट देखाउने होडवाजी चल्न थालेछ । त्यसको पछिल्लो उदाहरण भएको छ, एकीकृत माओवादीसहितको मोर्चाको आव्हानमा भएको वन्दको दौरान बानेश्वर आसपास भएको कथित झडप र त्यसको व्याख्या । बन्दका क्रममा राजधानीको बिजुलीबजारमा प्रहरीले नियतवश हस्तक्षेप गरेको आरोप लगाउंदै एमाओवादी नेता वर्षमान पुन ‘अनन्त’ले आक्रोश पोख्दै प्रहरी अधिकृतलाइ ‘भोलि हामी पनि सत्तामा आउँछौँ, त्यतिबेला के गर्नुहुन्छ, ख्याल गर्नुस् ?’ भनेछन ।

अनि वर्षमानले त्यसो गरेको समाचार आउन नपाउंदै माओवादी विरोधी केहि मित्रहरु रमाएर प्रहरी आफ्नो कार्यकर्तानै हुन कि जस्तो अभिव्यक्ति दिएको पनि सुनियो, पढियो । प्रहरीको काम कसैलाई काखा अनि कसैलाइ पाखा गर्ने हैन, उनीहरुको आन्दोलनकारीदेखि आन्दोलन विरोधीसम्मको जीउधन सुरक्षा गर्नु हो । यो सत्य नबुझेर वा वुझ्न नचाहेर सरकारको आदेश पालक प्रहरीलाइ दागा धर्ने माओवादी हुन वा माओवादीको आन्दोलनको दौरान आफ्नो जिम्मेवारी बहन गर्ने प्रहरीलाई माओवादी विरोधी र आफ्नो पक्षधर ठान्ने वा त्यसरी प्रचार गर्नेहरु हुन, सबैले वुझ्नुपर्छ कि प्रहरीको राजनतिक आस्थाले उसलार्इ कार्यसम्पादनको दौरान प्रभावित गर्नुहुँदैन र गर्दैन पनि । त्यसैले मंगलबार बिजुलीबजारमा प्रहरीले जे गर्यो, त्यो कसैलाई फाइदा गराउन अनि कसैलाइ घाटा पुर्याउन गरेको भनियो भने त्यो सरासर गलत हुनेछ ।
त्यसमाथि पनि अहिले वानेश्वर वृतका प्रमुख डीएसपी रहेका दानबहादुर कार्की नेपाल प्रहरीको पेशागत दक्षतामा उत्कृष्ट अधिकृतमै पर्छन्, जसले कार्य सम्पादनको दौरान स्वयं आन्दोलनकारीको समेत जिउधनको रक्षार्थनै भुमिका खेलेकोमा उनले दमन गरेको भनिएकी माओवादी नेत्री हिसिला यमीलाई समेत पक्कै भ्रम नहुनु पर्छ । केहि समय अगाडि मात्रै उत्तेजित आफ्नै कार्यकर्ताले देखाएको अभद्रताले माओवादीकै ठूला नेता घाइते भएको तथ्य वुझेका माओवादीको नेतृत्वमा अलिकति पनि सुझवुझ हुँदा पक्कै पनि उनीहरुले प्रहरीको भुमिकाको तारिफ गर्नुपर्छ ।
तस्वीरहरु सामाजिक सञ्जालबाट













प्रतिक्रिया