१३ कार्तिक २०८३, शुक्रबार

मोरङमा गोली चल्यो, दुईजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मोरङ । मोरङको रतुवामाईमा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

प्रहरीलाई छल्दै भाग्न खोज्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्ने प्रयास भएपछि प्रहरीले आठ राउन्ड गोली चलाएर दुई भारतीय नागरिकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्।

बिहीबार राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६, शनिश्चरेमा भएको उक्त घटनामा भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका हुन्। दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

लागुऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोली र ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र अर्को मोटरसाइकलमा आएका तीन जनालाई चेकजाँचका लागि रोकिएको थियो। तर, प्रहरी टोलीलाई देख्नेबित्तिकै उनीहरूले भाग्ने प्रयास गरेका थिए। नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै गोली प्रहार गर्ने प्रयास भएपछि स्थिति तनावपूर्ण बनेको थियो।

त्यसपछि प्रहरीले आत्मरक्षाका लागि चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली चलाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

गोली लागेर घाइते भएका दुवैलाई सुरुमा नगर अस्पताल झुर्कियामा प्राथमिक उपचार गराइएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

घटनामा घाइते दुई भारतीय नागरिकसँगै रतुवामाई नगरपालिका–१, चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान होममेड पेस्तोल, त्यसमा प्रयोग हुने एक थान गोली तथा दुईवटा मोटरसाइकल बरामद गरेको छ। बरामद लागुऔषधको परिमाण ठूलो रहेको र पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ।

लागुऔषध नियन्त्रण ब्युरोको सूचनाका आधारमा गरिएको यो कारबाहीलाई प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न समूहविरुद्धको महत्त्वपूर्ण सफलता मानेको छ। यद्यपि, बरामद लागुऔषध कहाँबाट ल्याइएको थियो, यसको गन्तव्य कहाँ थियो र कारोबारमा अरू को–को संलग्न छन् भन्ने विषय अझै खुल्न बाँकी छ।

घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। घटनास्थल सिजुवा प्रहरी कार्यालयबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ।

प्रहरीले पक्राउ परेकाहरूको आपसी सम्बन्ध, हतियारको स्रोत, लागुऔषध ओसारपसारको सञ्जाल तथा यसमा संलग्न सम्भावित अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।