
बैतडी, २५ असार । पहिरोका कारण गए रातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।
सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहायताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनः सञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रकै लागि छुटेका गाडी बीच बाटामै रोकिएका थिए ।
रोकिएका गाडी र यात्रु राजमार्ग पुनः सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । पहिरोका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । –रासस















प्रतिक्रिया