काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई दुई पटक भेटेर चुनावी सरकारको प्रधानमन्त्री बनाइदिन अनुरोध गरेको खुलासा भएको छ ।
एमालेका नेता एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेतले शनिबार एउटा अन्तर्वार्तामा भट्टराईले एकहप्ता अगाडि राति १ बजे ओलीसँग बालुवाटारमा गोप्य रुपमा भेटेर राष्ट्रिय सहमतिको चुनावी सरकारको नेतृत्व दिन आग्रह गरेको दाबी गरेका छन् ।
‘बाबुराम भट्टराईले विश्वासको मत लिनुभन्दा अगाडि दुई पटक राति १ बजे प्रधानमन्त्रीज्यूलाई भेट्नुभएको छ’, बस्नेतले भने, ‘राष्ट्रिय सहमतिको चुनावी सरकार बनाएर त्यसको नेतृत्व आफूलाई दिन बाबुराम भट्टराईले ओलीसँग अनुरोध गर्नुभएको थियो ।’
एमालेका नेता बस्नेतले भने, ‘प्रधानमन्त्री ओलीज्यूले बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिन नसक्ने जवाफ दिएपछि रन्थनिएर बालुवाटारबाट बाहिरिनुभएको थियो ।’
प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईलाई ‘तपाईसँग कति सांसद छन् ? तपाई एक्लै बाहेक तपाईको अगाडि पछाडि कति सांसद छन् ?’ भनेर सोधेको बताएका बस्नेतले दुई–चार जना सांसदनै नभएको नेतालाई प्रधानमन्त्री बनाउन नसकिने जवाफ दिएको बताए ।
ओलीले भट्टराईको प्रस्ताव अस्वीकार गरेपछि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन उपेन्द्र यादवलाई उकासेको बस्नेतले बताएका छन् ।
एमालेका नेता बस्नेतले राजेन्द्र महतोको नेतृत्वमा उप–प्रधानमन्त्रीसहित ८ मन्त्रालय लिएर सरकारमा जान सक्ने संकेत गरेका छन् । उनले भने, ‘प्रधानमन्त्री ओलीज्यूले राजेन्द्र महतो र महन्थ ठाकुरलाई उचित स्थान दिनु हुन्छ ।’
बस्नेतले राजेन्द्र महतो र महन्थ ठाकुर प्रधानमन्त्री बन्न सक्ने पनि स्वीकार गरेका छन् । भक्तपुरको डोलेश्वरको रिसोर्टमा बसेको जसपाको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेकोमा एमालेका नेता बस्नेतले बधाइ समेत दिएका छन् ।
यसैबीच, नेता बस्नेतले सामाजिक सञ्जालमार्फत बस्नेतले भक्तपुरमा बसेको बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै खुसीको व्यक्त गरेका हुन् ।
‘बिगतमा एमाले, माओवदी, कांग्रेस लगायतका दलहरूले पनि कतिपय महत्वपूर्ण बैठकहरू विभिन्न होटल, रिसोर्टहरूमा गर्दै आएको प्रचलन नेपालको राजनीतिमा सामान्य नै हो’, बस्नेतले भनेका छन्, ‘कतिपय पालित पोषित मिडिया र परिचालीत सोसल मिडियाका लाउकेहरूले यो विषयलाई अनावश्यक उचाल्न खोजेका छन् ।’
‘अतिथि देवः भव भन्ने हाम्रो मान्यताका आधारमा भक्तपुरमा उहाँहरूलाई स्वागत गरिएको हो’, बस्नेतले भने, ‘कसैको स्याल हुइँयाले दाल गल्नेवाला छैन ।’















प्रतिक्रिया