
काठमाडौं, १ जेठ । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन ।
सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि प्रायोग गर्ने निर्णय गरे पनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ ।
अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन् । नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग भए पनि ७ हजार २०० मात्र उत्पादन हुने गरेको छ ।
‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ तर अक्सिजन नभएपछि त्यतिकै रोकिएको छ,’ उनले भनिन्, ‘अहिले सङ्क्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनबिना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन ।’
सुरूमा १०० देखि ३०० शैय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ छ ।
उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिइन् । रासस















प्रतिक्रिया