६ कार्तिक २०८३, शुक्रबार

अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको विमान ओमान उड्यो, बेइजिङ पनि आजै जाने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज शनिबार बिहान ओमान गएको छ ।

५६० थान अक्सिजन सिलिन्डर ल्याएर उक्त जहाज शनिबार आजै साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने छ । नेपाल ल्याउन लागिएका सिलिन्डर गैरआवसीय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको हो ।

मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको मस्कटस्थित नेपाली दूतावासले जानकारी दिएको छ । सिलिन्डर ल्याउन गरिएको चार्टर बिमानको खर्च भने सरकारले व्यहोर्ने छ ।

यसैबीच, ओमानबाट सिलिन्डरहरु लिएर फर्किनेवित्तिकै सोही एयरलाइनसको जहाज आजै चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएको छ । चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज साँझ फेरि बेइजिङ जान लागेको हो ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दै छ । यो जहाजले कम्तीमा ४०० थान सिलिण्डर, ४०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

यसअघि वैशाख २८ गते नेपाल एयरलाइन्सले ४०० थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री ल्याएको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ ।