
काठमाडौं, ३० वैशाख । नेपाल इन्भेष्टमेण्ट (एनआईबीएल) र हिमालयन बैंक (एचबीएल) बीच एक आपसमा गाभ्न/गाभिनका लागि प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।
आज बिहीबार भएको उक्त सम्झौतामा एनआईबीएलका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा एचबीएलका अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुशरण गर्दै दुई बैंकबीच गाभ्न/गाभिनका लागि प्रारम्भिक सम्झौता भएको हो ।
दुई बैंक एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नाका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने दुवै बैंकको विश्वास छ ।
मर्जर पछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुने छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी रू. १६.२६ अरब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रू. १०.६८ अरब छ । दुवै बैंक मर्ज भएर एकीकृत कारोबार शुरू भएपछि बैंकको चुक्ता पू‘जी रू. २६.९४ अरब पुग्ने छ । र सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक समेत बन्ने छ ।















प्रतिक्रिया