
काठमाडौं, ३० वैशाख । पत्रकारद्वय सुमन मल्ल र गणेश पौडेलको निधन भएको छ ।
स्वर्गीय मल्ल नेपाल पत्रकार महासंघ मुगु शाखाका पूर्वअध्यक्ष हुन् भने पौडेल नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य हुन् ।
४१ वर्षीय पत्रकार मल्ल विगत १ वर्षदेखि मधुमेह र बाथ रोगबाट पीडित थिए । उनको गएराति मुगुको छायानाथ रारा नगरपालिका–१ श्रीनगर गाउँस्थित आफ्नै निवासमा निधन भएको हो ।
विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील मल्ल नागरिक दैनिकको स्थानीय सम्बाददाता थिए । उनले ‘कर्णाली देख्खिन बग्दोछ’ र ‘सुइना कर्णाली’ नामक नाटकको लेखन तथा अभिनय समेत गरेका थिए ।
स्वर्गीय मल्लका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
त्यस्तै ३८ वर्षीय पत्रकार पौडेलको कोरोना संक्रमणबाट निधन भएको हो । वैशाख १८ गते कोरोना संक्रमण देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कजेलमा भर्ना भई उपचारत उनको आज बिहीबार बहिान बिहान निधन भएको हो ।
स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा छन् । पोखरा–३३ बागमारा निवासी पत्रकार पौडेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । पोखरास्थित गण्डकी टेलिभिजनको स्थापनाकालदेखि काम गरेका पौडेलले पछिल्लो समय उक्त टेलिभिजनमा निर्देशकको जिम्मेवारी वहन गर्दै आएका थिए ।
स्वर्गीय पत्रकारद्वयको निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ ।
कोरोनाकै कारण हालसम्म १२ जना पत्रकारको निधन भएको महासंघले जनाएको छ । त्यस्तै ७५० जना भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।















प्रतिक्रिया