
काठमाडौं, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेभिट आएको छ ।
कोरोना संक्रमण भइ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको अस्पतालले जनाएको छ । आज मंगलबार अस्पतालले एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको र उनको स्वास्थ्यवस्था अहिले सामान्य रहेको अस्पतालको भनाइ छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको अस्पतालले जनाएको छ ।
त्यस्तै सोही अस्पतालमा उपचाररत कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालको भनाइ छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया