६ कार्तिक २०८३, शुक्रबार

उपप्रधानमन्त्री पोखरेलको एक्शन : मेयर शाक्य र मुख्यसचिव वैरागीलाई टेलिफोनमा के भने ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज मंगलबार काठमाडौंको बसुन्धारामा सञ्चालन तयारी भइरहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।

निरीक्षणकै क्रममा उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शैय्याको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको उक्त आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २०० शैय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । सो आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाडौंमा उपलब्ध ठूला भवनहरूलाई आइसोलेशन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना संक्रमितहरूको उपचार गर्ने सोच बनाएको सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए । निर्धक्क रूपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै पोखरेलले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराएका थिए । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।