६ कार्तिक २०८३, शुक्रबार

असन्तुष्टलाई अध्यक्ष ओलीको आह्वान– आउनुस्, केही समस्या भए छलफल गरी समाधान गरौं

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षहरुलाई छलफलमा आउन आह्वान गरेका छन् ।

समस्याबारे छलफलमा नआउने तर पार्टीलाई हानी पुग्ने गतिविधि निरन्तर जारी राखेको भन्दै ओलीले हतारमा कुनै पनि अनुचित निर्णय नलिन सांसदहरुलाई आग्रह समेत गरेका छन् । ओलीले केही बेरअघि ट्विट गर्दै समस्या भए सँगै बसेर छलफल तथा समाधान गर्न सकिने समेत स्पष्ट पारेका छन् ।

‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ । तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु,’ ओलीले ट्विटमा भनेका छन्, ‘आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

उनले थप लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ ।’

तर, माधव–झलनाथ समूहले भने आफूहरुको मागप्रति कुनै सुनुवाई नभएको भन्दै सामुहिक राजीनामाको अन्तिम तयारी गरिरहेको छ । ओलीले आफूहरुका कुनै पनि माग सुनुवाई नगरेकाले अब कस्तो निर्णय लिने भन्नेबारे अहिले सो समूहको बैठक सिंहदरबारमा बसिरहेको छ ।

नेपाल–खनाल समूहले हिजो राति पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका थिए । ९ बजेसम्म कुनै प्रतिक्रिया नआएकाले थप निर्णय गर्न उनीहरु बैठक बसिरहेका छन् ।