१३ कार्तिक २०८३, शुक्रबार

मोटरसाइकल चढेर महिलाका सिक्री लुट्ने पक्राउ, मुख्य अभियुक्त पूर्वाञ्चलकै नामुद ‘गुण्डा’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sun-sikri-Lutera

काठमाडौँ, २१ चैत । काठमाडौँ र ललितपुरमा मोटरसाइकलमा आई पैदल हिँडेका महिलाका सुनका सिक्री लुट्ने गिरोह प्रहरी फन्दामा परेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले काठमाडौँ तथा ललितपुरका बिभिन्न स्थानहरुमा सिक्री तथा गरगरहना लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये मोरङ शनिश्चरे गाविस वडा नं ३ घर भई हाल ललितपुर बालकुमारी बस्दै आएका २७ बर्षीय सन्तोष कटुवाल मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । बिनोद केसी र गुरु नामका कटवालले मोटसाइकलको पछाडि बसी सिक्री तान्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीका अनुसार, कटवाल  पूर्वाञ्चलकै नामुद ‘गुण्डा’ हुन् । उनीमाथि विभिन्न हत्या तथा लुटपाटको अभियोग छ । कटवालले २०७० पुस ९ गते मोरङ्ग, बुढीखोलाको किनारमा मानबहादुर तामाङ्गलाई गोली हानी हत्या गरेका थिए । कर्तव्य ज्यान र हातहतियार तथा खरखजना मुद्दा दर्ता भए पनि उनी फरार थिए । यसैगरी, सोही दिने सुनसरीको इटहरीमा सुन लुट्ने उद्देश्यले ओम शाही ज्वेलर्सका संचालक दिपेश शंकरमाथि गोली प्रहार गरेका थिए । सो घटनाका पनि उनीमाथि ज्यान मार्ने उद्योग तथा हतियारसम्बन्धी मुद्दाको फरार अभियुक्त हुन् ।

उनले गतबर्ष भदौ १७ इलामकी इन्दीरा कार्कीलाई बिभिन्न प्रलोभन देखाइ ६ लाख ५० हजार ठगी गरेकोमा इलाम प्रहरीमा संगठित अपराधमा मुद्धा दर्ता भएको पनि फरार रहेका थिए । प्रहरीले पूर्वी नेपालका विभिन्न जिल्लामा भएका ठूला घटनामा कटवालको संलग्नता रहेको आशंकामा अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार, पूर्वाञ्चलमा प्रहरीले खोज्न थालेपछि उनले काठमाडौँमा सुनका गहना लुट्ने गिरोह नै चलाएका थिए । मोटरसाइकलमा चढेर आउने यो गिरोहले मोटरसाइकल चलाउनेले टाउको र अनुहार पुरै छोपिने हेल्मेट लगाउने र पछाडी बस्नेले मुखमा मास्क लगाई भित्री सडकमा पैदल हिंड्ने महिलाहरुले लगाएको सुनका सिक्री लुटी फरार हुने गरेको थियो ।

प्रहरीले कटवालको गिरोहमा रहेका काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ९ देवभुमीबालुवाका ३३ बर्षीय राजकुमार तामाङ, झापा गौरादह गाबिस वडा नं. ९ घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका २३ बर्षीय बिदुर दाहाल, इलाम चुलाचुली गाविस ८ घर भई काठमाडौँमा बस्दै आएका ३२ बर्षीय प्रेमकुमार सेन्चुरी र सप्तरी कल्याणपुर ८ घर भई काठमाडौँको न्यूरोड बस्दै आएका रामहरी श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङ र दाहालले कटवाललाई मोटरसाइकलको पछाडि राखेर सिक्री लुट्न सहयोग गरेको तथा सेन्चुरी र श्रेष्ठले लुटिएको सुन खरिद गरेको प्रहरीले जनाएको छ । अभियुक्तहरुबाट ८ तोला ७५ लाल सुन, ३ लाख ३४ हजार नगद र लुटपाटमा प्रयोग गर्दै आएको बा.२५ प. ८६७६ नम्बरको कोलो पल्सर मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रारम्भिक सोधपुछका क्रममा अभियुक्तहरुले उपत्यकाका २४–२५ स्थानमा सिक्री लुटपाटको घटना घटाएको स्विकार गरेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न अयिभुक्तहरुबाट प्रेमकुमार सेन्चुरीले मात्र ३५ तोला सुन खरिद गरिसकेको बयान दिएका छन् ।