रौतहट । रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको ज्यान गएको छ भने मोटरसाइकलमा सवार उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन् ।
फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ गइरहेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय सुभाष र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा घाइते भएका थिए ।
दुवैलाई तत्काल एम्बुलेन्समार्फत वीरगञ्जस्थित बयोधा अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकको प्रयास सफल हुन सकेन । उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।
उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान रहेको खुलेको छ ।
घटनाले प्रहरी संगठनमा समेत दुःखद अवस्था सिर्जना गरेको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।














प्रतिक्रिया