
काठमाडौं, २१ वैशाख । पछिल्लो २४ घण्टाको अवधिमा मास्क नलगाई हिँडडुल गर्ने १२ हजार ३७९ जनालाई प्रहरीले घण्टौं होल्डिङ सेन्टरमा राखेर छोडेको छ ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत तोकिएको मापदण्ड उल्लंघन गर्ने थप ६९५ जनालाई प्रहरीले संक्रामक रोग ऐन, २०२० बमोजिम जरीवाना समेत गरेको छ ।
त्यस्तै प्रहरीले पछिल्लो २४ घण्टामा १३ हजार ९२ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सृजना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।















प्रतिक्रिया