६ कार्तिक २०८३, शुक्रबार

संक्रमणको साङ्लो अस्पताल वा आइसोलेशनले मात्रै चुडाउँदैन : प्रधानमन्त्री

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल वा आइसोलेशनले मात्रै विद्यामान कोरोना भाइरस संक्रमणको साङ्लो नचुडाउने बताएका छन् ।

आज सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणकै लागि प्रभावित ठाउँहरुमा निषेधाज्ञा तथा लकडाउन गरेको बताएका छन् । सरकारले जारी गरेका त्यस्ता उपायहरुलाई पूर्ण रुपमा पालना गरे मात्रै कोरोनाबाट मुक्ति मिल्ने उनको भनाइ थियो ।

‘संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिका लागि निषेधाज्ञा जारी गरिएको हो । यसलाई थप कडाई गरिंदैछ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’

त्यसैका लागि सरकारले यही २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान र २०७८ बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

त्यस्तै स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको, नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको, आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको जानकारी प्रधानमन्त्री ओलीले दिएका छन् ।

‘भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ,’ ओलीले भने । स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने उनको भनाइ छ ।