१३ कार्तिक २०८३, शुक्रबार

ब्रेकिङ न्यूजः एमाओवादीको मजदुर महासंघ फुट्यो, प्रचण्ड गुटकै समानान्तर समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi_Maoist-Office

काठमाडौँ, २० चैत । एकीकृत नेकपा माओवादीको मजदुर संगठन दुई चिरा भएको छ । शालिकराम जमरकट्टेलको नेतृत्वमा रहेको अखिल नेपाल ट्रेड युनियन महासंघलाई चुनौँती दिँदै उपमहासचिव राजन तिमिल्सिनाले समानान्तर समिति बनाएका हुन् ।

तिमिल्सिनाले आफ्नो नेतृत्वमा १ सय १ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका छन् । चैत ४ गते काठमाडौँमा गोप्य भेला गरी समानान्तर समिति बनाए पनि यसलाई गोप्य राखिँदै आएको छ । नयाँ संगठनको नाम ‘नेपाल क्रान्तिकारी स्वतन्त्र ट्रेड युनियन महासंघ’ राखिएको छ ।

शालिकराम जमरकट्टेलले स्वेच्छाचारी ढंगले संगठन चलाएकाले नयाँ महासंघ खोलेको तिमिल्सिनाले दैनिक नेपाललाई बताए । जमरकट्टेलसँग व्यक्तिगत अन्तरसंघर्ष रहे पनि तिमिल्सिना पार्टीभित्र एमाओवादी अध्यक्ष प्रचण्डकै गुटका नेताका रुपमा चिनिन्छन् ।

यसअघि मजदुर संगठनमा कलह बढेपछि एमाओवादीले नेता पोष्टबहादुर बोगटीको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । तर, बोगटीको निधन भएपछि जमरकट्टेलले आफूलाई स्वघोषित अध्यक्षका रुपमा काम गर्न थालेको तिमिल्सिनाको आरोप छ । ‘पोष्टबहादुर बोगटीलाई आयोजक समितिको संयोजक बनाइएको थियो । पार्टीले त्यसपछि निर्णय गरेको छैन । २०६४ सालको भाद्रमा महाधिवेशन भएपछि राष्ट्रिय भेला तथा सम्मेलन भएका छैनन्, उनी (जमरकट्टेल) ले स्वघोषित अध्यक्षका रुपमा संगठन चलाइरहेका छन् ।,’ तिमिल्सिनाले दैनिक नेपालसँग भने, ‘त्यहीकारण हामीले नयाँ संगठन खोलेका हौँ । जमरकट्टेलसँग महाधिवेशनबाट निर्वाचित १० प्रतिशत पनि छैनन् ।’

तिमिल्सिनाले जमरकट्टेल नेतृत्वको ट्रेड युनियन महासंघ अवैधानिक भएको घोषणा समेत गरे । ‘महासंघ अहिले आधिकारिक पनि छैन । ट्रेड युनियन ऐन अनुसार हरेक ३ बर्षमा भेला तथा सम्मेलन गरेर नवीकरण गर्नुपर्छ । तर, त्यो हुन सकेको छैन् ।’ उनले भने ।

जमरकट्टेलले ट्रेड युनियनका नाममा व्यपारिक घराना चौधरी ग्रुप लगायतबाट रकम कुम्ल्याएको असन्तुष्ट समूहको दाबी छ । असन्तुष्ट समूहले २०७० सालमा मजदुरको तलब बृद्धि गर्ने क्रममा उद्योग बाणिज्य महासंघसँग भएको ‘नो वर्क नो पे र हायर एण्ड फायर’ नीतिमा सम्झौता गर्दा पनि ठूलै आर्थिक लेनदेन भएको तिमिल्सिना समूहको दाबी छ । यसैगरी, अमेरिकी दातृ निकायको सहयोगमा संचालित अन्तर्राष्ट्रिय टे«ड युनियन महासंघसँग आबद्धता लिने क्रममा पनि कमिटी र पार्टीभित्र कुनै छलफल नगरेको तिमिल्सिनाले बताए ।

नयाँ कमिटीको आगामी मंसिरसम्म महाधिवेशन गर्ने तिमिल्सिना समूहको तयारी छ । एमाओवादीमा अध्यक्ष प्रचण्डले शालिकराम जमरकट्टेललाई संरक्षण दिइरहेको आरोप लागेको छ । उनले आफू निकटका मजदुर नेताहरुलाई दुःख दिइरहेको भन्दै कारबाहीका लागि पार्टीकै वरिष्ठ नेता बाबुराम भट्टराईले अध्यक्ष प्रचण्ड सामु दबाब दिँदै आएका छन् ।