
काठमाडौं, १६ वैशाख । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी खसालिएको छ ।
एक औपचारिक कार्यक्रममार्फत संघीय सरकारका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले स्वीच थिचेर आयोजनाको वालुवा थिग्र्याउने डिस्यान्डर पोखरीमा पानी पठाउन शुरू गरेका हुन् । यसअघि सफल परीक्षण भइसकेको वालुवा थिग्र्याउने डिस्यान्डर पोखरीमा आजदेखि औपचारिक रुपमा पानी भर्न शुरू गरिएको हो ।
वालुवा थिग्र्याउने पोखरी भरिनन बढीमा १० दिन लाग्ने र सोही पोखरी हुँदै मुख्य सुरुङमा पानी पुग्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि १० दिनभित्र परीक्षण कार्य सम्पन्न हुने छ ।
स्वदेशी लगानीमा निर्माण भएको मुलुककै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही वैशाखभित्रै विद्युत् उत्पादनको तयारी समेत भइरहेको छ । सुरुङ भरिएसँगै वैशाखभित्रै १ युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको बताइएको छ । १ युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने छ ।
केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम समेत रहेको सरकारका प्रवक्त मन्त्री गुरुङले जानकारी दिएका छन् ।
पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू गरिने छ । यसका आधारमा आगामी जेठ महिनामै माथिल्लो तामाकोसीबाट १५० मेगावाट बिजुली उत्पादन हुने छ ।
उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिने छ । परीक्षण सफल भएपछि भने नियमित रूपमा व्यावसायिक उत्पादन हुने छ । सबै युनिट जडान गरेर तीन महिनाभित्र आयोजनालाई पूर्ण क्षमता चलाउने योजना रहेको छ ।















प्रतिक्रिया