
काठमाडौं, १४ वैशाख । कोभिड–१९ महामारीमा जुधिरहेको नेपाल सरकारलाई अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्दै स्वास्थ्य सामग्री सहयोगमा समन्वय गर्ने गोर्खा पार्टी नेपालले घोषणा गरेको छ ।
पार्टीका अध्यक्ष तथा संयोजक कुबेर कार्कीले एक विज्ञप्ति जारी गर्दै अहिलेको महामारीमा जनताको उपचारलाई प्राथमिकतामा राखी चल्न सरकारसँग अपिल समेत गरेका छन् । ‘कोभिडका कारण मुलुकमा दैनिक ३० जनाको मृत्यु हुँदा नेपाल सरकार, सरकारमा रहेका पार्टी सत्ताको खेल र उलटपुलटमा मात्र लागेको स्पष्ट देखिएको छ,’ कार्कीले विज्ञप्ति मार्फत भनेका छन्, ‘स्वास्थ्यका क्षेत्रमा अक्सिजन संकलन र सुरक्षण, अस्पतालमा बेडको व्यवस्था, कोभिड व्यवस्थापनका निम्ति खरो रुपमा पूर्वतयारी गरेको पाइँदैन ।’
पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा, बाँच्न पाउने अधिकार, स्वास्थ्यमाथिको अधिकारका निम्ति सरकार अग्रसर हुन आवश्यक रहेको उल्लेख गर्दै कार्कीले विज्ञप्तिमार्फत भनेका छन्, ‘देशमा रहेका सरकारी अस्पताललाई कोभिड उपचारका निम्ति गतिशील बनाउँदै निजी अस्पताललाई तत्काल सरकारले आफू नियन्त्रणमा लिएर उपचार र व्यवस्थापनका निम्ति अग्रसर हुन जोडदार माग गर्दछौं ।’
नागरिकको स्वास्थ्यका निम्ति आवश्यक खोप, उपचारका लागि प्रविधि, प्राविधिकका लागि किटलगायत व्यवस्था सरकारलाई निःशुल्क गराउन र सहयोगका लागि गोर्खा नेपाल पार्टीको पहल अग्रणी रुपमा रहने पनि पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ ।
‘चाँडो भन्दा चाँडो अहिलेको जोखिमलाई व्यवस्थापनका निम्ति नागरिकलाई राहत, स्वास्थ्य उपचार र बाँच्न पाउने अधिकारलाई सुरक्षण गर्न सरकारको ध्यान पुग्नुपर्नेमा उक्त पार्टीले जोड दिएको छ । ‘त्यसका लागि हाम्रो पार्टी सरकारसँग सहकार्य गर्न तत्पर रहेको छ,’ विज्ञप्तिमार्फत कार्कीले भनेका छन्, ‘अतः देश तथा विदेशका सरकार, विभिन्न निकाय, कुटनीतिक नियोगमार्फत गोर्खा पार्टी नेपालको पहलकमदी रहने र सरकारसँग सहकार्यमा तत्पर रहेको जानकारी गराउँदै नागरिक सुरक्षाका निम्ति कटिबद्ध हुनुपर्ने समयको स्मरण गर्दै निजी स्वास्थ्य संस्थालाई सरकारले नियन्त्रणमा राख्नका लागि जोडदार माग गर्दछौं ।’
विद्यमान महामारीका बेला सरकारले निजी अस्पतालहरुलाई आफ्नो पूर्ण नियन्त्रणमा राखेर कोभिड–१९ का विरामीको उपचार व्यवस्था मिलाउने हो भने उक्त पार्टीले स्रोत व्यवस्थापनमा भरपुर सहयोग गर्ने स्पष्ट पारेको छ ।















प्रतिक्रिया