
काठमाडौं, १३ वैशाख । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२औं स्मृति दिवस आज मनाइएको छ ।
कोभिड–१९ संक्रमणका कारण यस वर्ष विगतमा जस्तो औपचारिक कार्यक्रम नराखिए पनि सानेपास्थित मनमोहन प्रतिष्ठानमा अवस्थित स्व. अधिकारीको शालिकमा माल्यार्पण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीको सालिकमा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा स्वर्गीय अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको अध्यक्ष पोखरेलले स्मरण गरे ।

स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको स्मरण गर्दै पोखरेलले आगामी दिनमा नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान होस् भन्ने कामना समेत गरेका छन् ।
पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।


















प्रतिक्रिया