१४ कार्तिक २०८३, शनिबार

फितलो बन्यो कन्ट्याक्ट ट्रेसिङ, सङ्क्रमण दर बढ्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ११ वैशाख । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ ।

भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ ।

कैलालीको गौरीफन्टा सीमा नाकाको हेल्थ डेस्कमा खटिनुभएका स्वास्थ्यकर्मी गणेश साउदले सीमानाकाबाट भित्रिने नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा सङ्क्रमण दर बढेकोे बताउनुभयो ।

भारतबाट निर्वाधरुपमा नेपाली र भारतीय नागरिक सीमानाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । पछिल्लो हप्तामा प्रदेशमा नयाँ सङ्क्रमित ३६८ जना पुगेका छन् ।

अघिल्लो हप्तामा १२३ सङ्क्रमित फेला परेका थिए । शुक्रबार एकै दिनमा ९४ जना सङ्क्रमित थपिएका थिए । सङ्क्रमणको दर बढ्दै जाँदा प्रदेशमा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी ५०९ पुगेका छन् । यीमध्ये ७७ अस्पतालका आइसोलेशनमा र बाँकी स्थानीय तहका तथा होम आइसोलेशनमा रहेका छन् । सघन उपचार कक्षमा १४ र भेन्टिलेरमा तीन उपचाररत रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धाँमी भने सङ्क्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिए । गौरीफन्टा सीमानाका हुँदै दैनिक कम्तीमा पनि ५०० व्यक्ति स्वदेश फर्किने गरेका छन् ।

भित्रिने सबैको एन्टिजेन परीक्षणः शुरुका केही हप्तामा सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शङ्कास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकामा पछिल्ला दिनमा सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

यस्तो परीक्षणबाट नतिजा ‘पोजेटिभ’ देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको आइसोलेशनमा राख्ने गरिएको छ ।

होम आइसोलेशनमा बस्नुपर्ने अवस्थाको सङ्क्रमितलाई भने स्वास्थ्य सतर्कता सम्बन्धी परामर्श दिइ होम आइसोलेशनमा पठाउने गरिएको छ । –रासस