
काठमाडौं, ७ वैशाख । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ ।
आज वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कांग्रेसको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिको बर्खिलाप रहेको ठहर समेत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभाको चालू अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी थिइन् ।
मन्त्रिपरिषद्को सोमबार बिहान बालुवाटारमा बसेको बैठकले संसदमा विजनेश नभएको भन्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।















प्रतिक्रिया