
काठमाडौं, ३ वैशाख । नयाँ वर्ष २०७८ को अवसरमा गुफापोखरी समाज काठमाडौंले पर्यटन प्रबर्द्धनका लागि प्रयास स्वरुप वनभोज आयोजना गरेको छ ।
बुधबार काभ्रेपलाञ्चोकको नमोबुद्धमा भएको कार्यक्रममा ताप्लेजुङको पर्यटकीय क्षेत्र गुफा पोखरीको प्रबर्द्धनका लागि काठमाडौँमा रहेका गुफापोखरी गुराँसको राजधानी टीएमजी क्षेत्रका बासिन्दाले एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गम स्थलमा अवस्थित गुफापोखरी लगायत जिल्लाका प्रसिद्ध स्थलहरुको प्रचारप्रसारका साथै व्यवस्थित तरिकाले पर्यटक भित्र्याउने र विकसित समाज निर्माण गर्ने उद्देश्यले समाज स्थापना गरिएको समाजका अध्यक्ष दिनेशचन्द्र खनालले बताए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण पर्यटकको संख्यामा कमी आए पनि दीर्घकालीन सोचका साथ प्रबर्द्धनका लागि राजधानीमा रहेका गुफापोखरी बासी एकजुट भएको समाजले जनाएको छ ।
कार्यक्रममा बोल्ने वक्ताले आफ्नो परम्परागत संस्कृति र पर्यटकीय क्षेत्रको विकासमा लागि प्रतिबद्धता जनाएका थिए ।
विभिन्न सम्प्रदाय (राई, भोटे, क्षेत्री, शेर्पा) का करिब १५० जनाको सहभागिता रहेको कार्यक्रममा जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, लालीगुराँस समूहका अध्यक्ष कान्छा भोटे, ताप्केगोला समाजका महासचिव दावासाङ्वु शेर्पा, समाजसेवी एनडी शेर्पा (नावाङ दोर्जी) लगायतको उपस्थिति रहेको थियो ।
टोलीले नमोबुद्ध परिदर्शन गर्दै रचनात्मक प्रतियोगिता समेत गरेको थियो ।

– देवकी न्यौपानेबाट















प्रतिक्रिया