
बर्दिया, ३ वैशाख । अप्राकृतिक मैथुन (करणी) मुद्दाका फरार प्रतिवादी बढैयाताल घर भएका २७ वर्षीय आरिफ जागालाई चैत ३१ गते प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दियाको २०७५ जेष्ठ ४ गतेको फैसलाले उक्त मुद्दामा ८ वर्ष कैद र उच्च अदालत नेपालगंज ईजलासको फैसलाले सोही मुद्दामा थप १ वर्ष गरी जम्मा ९ वर्ष कैद सजाय भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले बाँसगढीस्थित काठमिलबाट पक्राउ गरेको हो ।
यसैगरी बहुविवाह मुद्दाका फरार प्रतिवादी बारबर्दिया नगरपालिका–११ बस्ने ३० वर्षीया कान्ती थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७७ पुस १७ गतेको फैसलाले उक्त मुद्दामा १० महिना १४ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका–१० कालाबन्जर बस्ने २१ वर्षीय संजित थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७५ जेठ १७ गतेको फैसलाले २४ दिन कैद सजाय भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनकै घरबाट फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत बर्दियाको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय बर्दिया पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।















प्रतिक्रिया