
काठमाडौं, २ वैशाख । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासनसम्बन्धी डिजिटल सफ्टवेयर ‘मेरो कित्ता’ शुभारम्भका अवसरमा प्रधानमन्त्री ओलीले अब पनि ढिलाइ गरे कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
माथिल्लो तामाकोशीलाई सरकारले अब विशेष चासोका साथ हेर्ने बताउँदै प्रधानमन्त्री ओलीले तामाकोशी निर्माणमा भइरहेको ढिलाईलाई अस्वाभाविक र असाधारण भभएको बताएका छन् । उनले कुनै पनि प्रकारको अस्वाभाविक ढिलाई अब सह्य हुन नसक्ने समेत बताएका छन् ।
‘अपर तामाकोशीमा अस्वाभाविक र असाधारण तरिकाले काममा ढिलाई भइरहेको छ,’ प्रधानमन्त्री ओलीले नापी विभागमा आयोजित कार्यक्रममा भने, ‘पाइप फुटेजत्तिको काम बाँकी छ तर ढिलासुस्ती भइरहेको छ ।’
अपर तामाकोशीमा ढिलाई हुँदा दैनिक १३ करोड नोक्शान भइरहेको बताए । ‘देशभित्र या बाहिरका जोकोही ठेकेदार हुन् अब सह्य र मान्य हुने छैन, ढिलासुस्ती गर्नेले आफै क्षति व्यहोर्नुपर्छ,’ ओलीले भने ।
एक वर्षअघि सोध्दा, एक महिना अघि सोध्दा र केही दिन अघि सोध्दा एउटै जवाफ पाउने गरेकोप्रति ओलीले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।















प्रतिक्रिया