उनका अनुसार सामान आएकामा त्यसको ‘प्रोजामिङ’ भइरहेको छ । विदेशबाट आउनुपर्नेमा केही सामान आउन अझै बाँकी रहेको छ । यी बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । उनले भने, ‘यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।’
विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेको थियो । पहिले थापाथलीमा एउटा निजी संस्थाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि उसले बत्ती निकालेर लगेको उनले बताए । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए ।
विभागले अहिलेसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ । ठाउँ-ठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन् । यी सबैमा कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । अरु निकायले जडान गरेको बत्ती पनि केही महिनामा विभागलाई नै हस्तान्तरण हुने प्रमुख ओझाले जानकारी दिए ।
विभागले थप अरु छ/सात ठाउँमा बत्ती राख्ने योजना बनाएको छ । चक्रपथको कोटेश्वरबाट–कलङ्की खण्डमा ट्राफिक बत्ती जडानको काम आगामी आवमा हुनेछ । काठमाडौं उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ । वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ । उपत्यकासँगै उपत्यका बाहिर पनि यसको माग भइरहेको प्रमुख ओझाले बताए ।
बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ । अझै पनि कतिपय यात्रु र चालकले बत्तीको सङ्केत नबुझेर त कतिले बुझे पनि बेवास्ता गरेकाले त्यसको पालना गराउन ट्राफिक प्रहरी चोकचोकमा खटिएको देख्न सकिन्छ । रासस
प्रतिक्रिया