
काठमाडौँ, २१ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको बताएका छन् ।
त्यस्तै प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न भइरहेको पनि उनले जानकारी दिए ।
शनिबार बालुवाटारमा आयोजित १६५ रणनीतिक सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले मुलुकमा पूर्वाधारको क्षेत्रमा सडक अन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरेको बताए ।
यस्तो पूर्वाधानर निर्माणले सरकारको चाहना सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्ने उनले बताए ।
विगतका सरकारहरुले वर्षौँ लगाएर पनि सडक र पुल निर्माण गर्न नसकेको तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै आर्थिक वर्षमा गरेर देखाएको उनको भनाइ छ ।
‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्र्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन्’, उनले भने, ’, उनले भने, ‘प्रति दिन साढे ६ किलोमिट बाटोहरु बनेको अवस्था छ । विगतका वर्षमा दर्जनौं पुल बन्न सक्दैनथ्यो । यो सरकारले तीन वर्षमा सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको छ । प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको जगजाहेर छ ।’
उनले ८० राजमार्गलाई तीव्रता दिएपनि अझै पनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको अवस्था भने रहेको स्वीकार गरे ।
अब रणनीतिक सडकमार्फत प्रदेश राजधानी, जिल्ला सदरमुकाम, एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्र तथा एक जिल्लाबाट अर्को जिल्ला सहज रुपमा जोडिने उनले बताए ।
संघियताको कार्यान्वयन तथा राष्ट्रिय आकांक्षाका लागि यो योजना कोशेढुंगा सावित हुने मन्त्री नेम्वाङको भनाइ छ ।












प्रतिक्रिया