काठमाडौं, २१ चैत् । तेह्रौं शताब्दी आसपासका प्राचीन नेपाली सम्पदा अमेरिकाको न्युयोर्कमा भेटिएको चार वर्षपछि अदालती प्रक्रियाबाट ‘उत्पत्ति र आधिकारिकता’ प्रमाणित गरेर चाँडै घर फर्काइने भएको छ । नेपालसहितका मुलुकबाट चोरी गरी अमेरिका पुर्याइएका प्राचीन सम्पदा भारतीय मूलका एक अन्तर्राष्ट्रिय व्यापारीको संग्रहमा पाइएको थियो ।
त्यसबारे अनुसन्धान र कानुनी प्रक्रिया अवलम्बन गर्दै न्युयोर्कस्थित न्यायाधिवक्ता कार्यालयले नेपालका सम्पदा फर्काउने भएको हो । पन्ध्रौं–सोह्रौं शताब्दीको मानिने भुइँमा बसेका गणेश, चौधौं–पन्ध्रौं शताब्दीको मानिने भूमिस्पर्श मुद्राका बुद्ध र १३ औं शताब्दीको काठमा कुँदिएको अप्सरा आकृतिको सम्पदा नेपाललाई हस्तान्तरण गरिएको छ । न्युयोर्कमा बिहीबार आयोजित कार्यक्रममा न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र न्युयोर्कका जिल्ला न्यायाधिवक्ता साइरस भान्स जुनियरले यी सम्पदा नेपाललाई हस्तान्तरण गरिएको सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
‘हाम्रो सम्पदा अमेरिकाको गृह मन्त्रालयअन्तर्गत सुरक्षा निकायले फेला पारेको र यसको उत्पत्तिको पहिचानबारे अदालती कारबाही अघि बढिरहेको सूचना केही महिनाअघि पाएका थियौं,’ न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत गौतमले कान्तिपुरसँग फोनमा भने, ‘आधिकारिकता पुष्टि भएपछि यी सम्पदा अहिले न्यायाधिवक्ता कार्यालयले हाम्रो जिम्मा लगाएको छ, अब केही प्रक्रिया पूरा हुनासाथै डिप्लोम्याटिक कार्गोमा काठमाडौं पठाइनेछ ।’
न्युयोर्क, म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सुवास कपुर नामका व्यक्तिको संग्रहमा २५ सयभन्दा बढी प्राचीन सम्पदा र पुरातात्त्विक संग्रह पाइएकामा गत सातामात्रै अनुसन्धान पूरा भएर केही सम्पदा श्रीलंका र इजिप्ट फिर्ता पठाइएको थियो । चोरिएका, लुटिएका वा तस्करी गरिएका यस्ता सांस्कृतिक सम्पदाको ‘उत्पत्ति आधार र प्रामाणिकता’ पहिल्याउन कानुनी प्रक्रियामै वर्षौं लाग्ने गर्छ । यस पटक चार वर्ष लामो अदालती प्रक्रियाबाट नेपालका सम्पदा फर्काउन लागिएको हो ।
सन् १९७० को युनेस्को अभिसन्धिअनुसार हराएका वा चोरिएका यस्ता सांस्कृतिक सम्पदा भेटिएमा ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधान भएकाले पनि सम्पदा फर्कने अवस्था आएको हो । नेपाल र अमेरिका उक्त अभिसन्धिका हस्ताक्षरकर्ता हुन् । देवेन्द्र भट्टराईले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया