
काठमाडौं, २० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन सामान्य कुरा नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका निलम्बित वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनको अर्थ र परिभाषा नै नबुझेकाहरुले प्रतिगमन भयो भन्दै जनता अलमल्याएको बताएका हुन् ।
आज शुक्रबार मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा वितरण गर्न आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफू पदमा जान नपाएपछि केही व्यक्तिले प्रतिनिधिसभा विघटनको कदमलाई ‘प्रतिगमन भयो’ भन्दै जनतालाई अल्मल्याउन खोजेको बताए ।
‘खोइ कहाँ भयो प्रतिगम ?’, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भनेका छन्, ‘प्रतिगमन भनेको सामान्य कुरा हो र ? आफू पदमा जान नपाएपछि जनता अल्मल्याउन खोज्ने ?’
आफू र राष्ट्रपतिविरुद्ध अप्रिय कदम चाल्न खोजेपछि प्रतिनिधिसभामा फोहोरी खेल दोहारिने भएकाले आफूले निर्वाचन घोषणा गर्दै संसद विघटन गरेको स्पष्ट पार्दै ओलीले भने, ‘लोकतन्त्र खतरामा पर्यो, गणतन्त्र खत्तम भयो, झन् संघीयता त बर्बादै पार्न आँटे भनेर हल्लाखल्ला मच्चाइयो ।’
पुनस्र्थापित प्रतिनिधिसभाले काम गर्न नसकिरहेकोतर्फ संकेत गर्दै ओलीले आफ्नो कदम सही भएको दाबी समेत गरेका छन् ।















प्रतिक्रिया