३१ आश्विन २०८३, शनिबार

नेपाल समूहमाथि आक्रामक बन्दै ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढ्नुभएको छ ।

पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गर्नुभएको छ ।वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गर्नुभएको छ ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै भुसाल र पाण्डेलाई पनि ६ महिना निलम्बन गर्नुभएको हो । यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसक्नुभएको छ ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाउनुभएको थियो ।

नेपाल र रावलले चैत १२ गते, भुसाल र पाण्डेले चैत १७ गते पार्टीलाई स्पष्टीकरण बुझाउनुभएको थियो । बिहीबार निलम्बन गरिएको भनी पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षत–विक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित गतिविधि गरेकाले लिम्बन गरेको उल्लेख गर्नुभएको छ ।

पत्रमा स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटि स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रस्टरूपमा देखिएको जनाइएको छ ।

पत्रमा ओलीले भन्नुभएको छ– ‘आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।’ मधुसूदन रायमाझीले नेपाल समाचार पत्र दैनिकमा समाचार लेखेका छन् ।