१३ कार्तिक २०८३, शुक्रबार

योजना आयोगका उपाध्यक्ष र व्यवसायीबीच निर्माण उद्योगको समस्याबारे छलफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेँललाई भेटी निर्माण व्यवसायीहरूका समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कडेँललाई विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण निर्माण व्यवसाय थप मारमा परेको बारे अवगत गरायो । जवाफमा उपाध्यक्ष कडेँलले म्याद थप र भुक्तानी समस्याका कारण निर्माण व्यवसायीहरू समस्यमा रहेको बारे आफू जानकार रहेको बताए ।

उनले छिट्टै विकास मन्त्रालयहरूको बैठक डाकेर समस्या समाधानका लागि ठोस पहल गर्ने आश्वासन पनि दिए । महासंघ प्रतिनिधि मण्डलले निर्माण कार्यको म्यादथप, धरौटी रकम फिर्ता लगायतका विषयमा आफ्नो लिखित सुझाव पेश गरेको छ ।

योजना हस्तान्तरण, क्रेडिट लाइनको कमिशन, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता सम्बन्धमा पनि महासंघले आफ्नो लिखित धारणा पेश गरेको छ ।

स्रोतमा कट्टी भएको अग्रिम मूल्य अभिवृद्धि कर रकम फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट सम्बन्धमा समेत महासंघले आफ्नो आधिकारिक धारणा राखेको महासंघको विज्ञप्तिमा जनाइएको छ ।

हाल संसदमा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँग सम्बन्धित कानूनहरु निर्माण मैत्री हुने गरी संशोधन गरिनुपर्ने माग पनि महासंघले अघि सारेको छ ।

विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यका लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समूहबाट पटकपटक भइरहेको श्रृखंलावद्ध आक्रमण तथा आगजनीका घटनाबारे पनि महासंघ प्रतिनिधि मण्डलले उपाध्यक्ष कडेँलको ध्यानाकर्षण गराएको छ ।

महासंघ प्रतिनिधि मण्डलमा उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाल, सदस्य अशोक केसी, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अघिकृत रामचन्द्र गिरीको सहभागिता रहेको थियो ।