
काठमाडौँ, १७ चैत । आइतबार होली खेल्ने क्रममा काठमाडौँको एक विद्यालयको प्रांगणमा एसीडको प्रयोग भएको छ ।
एसीडलाई पानी ठानेर रंग घोलेर छ्याप्दाखेरि ३ जना बालबालिकासहित अन्य घाइते भएका छन् ।
शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा रहेको नवीन ग्राम माध्यमिक विद्यालयको प्राङ्गणभित्रै एसिडलाई पानी ठानेर होली खेलिएको थियो ।
उनीहरुको साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि २ जना घाइते बालक डिस्चार्ज भएका छन् भने गम्भीर घाइते बालिका अस्मिता तामाङको उपचार भइरहेको छ ।
उनी खतरामुक्त रहेकी चिकित्सकहरुले जनाए पनि दुवै आँखा बन्द तथा अनुहार सुन्निएको छ । घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङ र सरस्वती दुग्ध सहकारीका ४४ वर्षीय केशव नेपाल रहेका छन् । उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतले ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
एसिडमा रंग घोलेर पहाडी र तामाङले दलेका थिए । उनीहरुले नाङ्गलेभारे नवीन ग्राम माविमा रहेको सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाले राखेको सल्फ्युरिक एसिड ल्याएका थिए ।
होली खेल्न पानी मागेपछि एक ९ वर्षीय बालकले ग्यालिन खोलेर लगिदिएको र पानी भनेर एसीडमै रंग घोलेर छ्यापेका थिए ।
कसरी भयो घटना ?
नवीनाग्राम माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने बालिका अस्मिता तामाङ होली खेल्न आइतबार स्कूल पुगेकी थिइन् । स्कुल विदा भएकाले स्कूल छेउमा साँखु–मेलम्ची सडक मर्मतका खटिएका मजदूरहरु पनि होली खेल्न भनेर आए ।
दिउँसो साढे ३ बजेतिर होली खेलिरहेका बेला सडक निर्माणमा खटिएका पहाडी र तामाङ पनि विद्यालयभित्र छिरे । उनीहरुले एसीडमै रंग घोलेर छ्याप्न थालेपछि शरीर पोलेर विद्यार्थीहरु भागेका थिए । भूलवश भएको एसीड प्रहारबाट सबैभन्दा धेरै प्रभाव अस्मितालाई परेको छ ।
उपचाररत उनको अहिले पनि अनुहार र शरीर पोलेको बताएकी छन् ।












प्रतिक्रिया