काँकडभिट्टा, १६ चैत । गत माघ १९ को सैन्य ‘कु’ पछि म्यान्मार (बर्मा) मा लोकतन्त्र पक्षधर आन्दोलित छन् । दिनहुँ सरकारविरोधी प्रदर्शन भइरहेको छ । सैन्य दमन पनि तीव्र छ । सञ्चारमाध्यमका अनुसार यसबीचमा ४ सयभन्दा बढी आन्दोलनकारी मारिएका छन् ।
जसमा बालबालिकाको संख्या पनि उल्लेख्य छ । म्यान्मारमा जारी सैन्य दमन र हिंसाको खबरले मुलुकको पूर्वी सीमान्त सहरमा बस्ने बर्मेली–नेपाली चिन्तामा छन् । ‘आन्दोलनमा परेर आफन्तलाई केही भयो कि भनेर राम्ररी निद्रा पर्दैन,’ मेचीनगर–६ बर्मेली बस्तीकी ७० वर्षीया रोहिणी काफ्लेले भनिन् ।
म्यान्मारमा जन्मेहुर्केका र नेपाललाई कर्म भूमि बनाएका करिब ४० घरपरिवार बर्मेली बस्तीमा बस्छन् । यो बस्तीमा रहेकाहरूले सैन्य ‘कु’ पछि म्यान्मारका आफन्तसँग नियमित सम्पर्क गर्न पाएका छैनन् । रोहिणीले विगतमा त्यहाँका आफन्तसँग प्रायः फेसबुकको माध्यमबाट सम्पर्क गर्थिन् । आन्दोलन सुरु भएदेखि आफन्तको खोजखबरै थिएन ।
दुई दिनअघि उनले ठूलीआमाकी छोरी (बहिनी) देवी गौतमसँग फेसबुक म्यासेन्जरमा कुरा गर्न पाइन् । ‘सेनाले मान्छे मारिरहेको छ रे । सैनिक शासन नहटाएसम्म आन्दोलन गर्ने रे,’ बहिनीको भनाइ उद्धृत गर्दै रोहिणीले सुनाइन् ।
सैन्य ‘कु’ विरुद्धको आन्दोलनमा म्यान्मारका नेपालीभाषीसमेत उत्रिइसकेका छन् । आन्दोलनका क्रममा अहिलेसम्म कुनै नेपालीभाषी मारिएको या घाइते भएको खबर छैन । केही दिनअघि नेपालीभाषी आन्दोलनकारीलाई सैनिक सरकारले हिरासतमा राखेर छाडेको थियो । रोहिणीका श्रीमान् ऋषिरामले भने, ‘अहिले सेनाले गरेजस्तो अत्याचार त कचिन विद्रोहीहरूले पनि गरेका थिएनन् ।’ ८३ वर्षअघि म्यान्मारको मिचिना, नौनिखा गाउँमा जन्मेका ऋषिरामको परिवार कचिन विद्रोहीबाट लखेटिएर नेपाल आइपुगेको थियो । ‘यताको माओवादीले जस्तै बर्मामा कचिन विद्रोहीले सशस्त्र संघर्ष गरेका थिए,’ ऋषिरामले सम्झिए, ‘उनीहरूले हाम्रो गाउँलाई सेल्टर बनाएपछि लखेटिनुपर्यो ।’
ऋषिरामका अनुसार त्यो बेला म्यान्मारको सेनाले पीडित नेपालीभाषीलाई सहयोग गरेको थियो । त्यो गाउँबाट करिब ७ सय ७३ नेपालीभाषी परिवार विस्थापित बनेका थिए । केही अन्य समुदायका पनि थिए । सबैलाई सेनाले केही समय सहरमा आश्रय दिएको थियो । पछि रेल चढाएर यांगुनसम्म पठाउन मद्दत गरेको थियो । धेरैजसो नेपालीभाषी एकसरो लुगामात्रै लगाएर नेपाल फर्किएका थिए । यांगुनबाट जहाज चढेर कोलकाता हुँदै नेपाल प्रवेश गरेको ऋषिरामले सम्झिए । ‘त्यस्तो सहयोगी सेना आज कसरी राक्षस बन्यो !’ ऋषिरामले भने, ‘सेनाले गरिरहेको गतिविधि ठीक होइन ।’
८२ वर्षीय लोकनाथ बन्जाडेले म्यान्मारमा केही समय सैनिक शासन भोगेका थिए । जनरल ने विनले २०१८ फागुन १८ मा सैनिक ‘कु’ बाट पहिलोपटक म्यान्मारको सत्ता हत्याएका बेला उनलाई ‘सेनाले जे गर्यो ठीकै गर्यो’ भन्ने लागेको थियो । ‘त्यो बेला सैन्य शासन अनुशासित थियो, जनताको सहयोगी थियो,’ बन्जाडेले भने, ‘अहिलेको घटना सुन्दा त पत्यारै लागेको छैन । सेनाले यस्तो अपराध गर्न सक्छ ?’ पर्वत पोर्तेलले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया