१३ कार्तिक २०८३, शुक्रबार

मौसम सुध्रन अझै केही दिन लाग्ने मौसमविदको भनाइ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । हाल काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदुषण तीव्र बनेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उपत्यकासहित मुलकको मौसम सुधार हुन अझै केही दिन लाग्ने जनाएको छ ।

शुक्रबार दिउँसोदेखि वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको थियो । पलभरमै वायु प्रदुषण ह्वात्तै बढेपछि भिजिविलिटी अत्याधिक कम भएर हवाइ उडानहरु प्रभावित बनेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ । उपत्यकाका केही स्थानहरुमा शुक्रबार एक्यूआई ४७० सम्म रेकर्ड हुन पुग्यो । शनिबार विहान ४१० रहेको थियो ।

मौसम पूर्वानुमान महाशाखाले नेपालका अधिकांश जिल्लामा डढेलो लागेको र त्यसबाट सिर्जित प्रदूषणको कणहरू वायुमण्डलमा नै जम्मा भएको  जनाएको छ ।

महाशाखाले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ, ‘हाल नेपालको धेरैजसो स्थानहरुको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कणहरु छरिन पाउँदैन र वायुमण्डलमा नै तैरिरहने हुन्छ। हाल नेपालका अधिकांश जिल्लाहरूमा डढेलो लागिरहेको र सोबाट सिर्जित प्रदूषणको कणहरु वायुमण्डलमा नै जम्मा भएकोले धेरै जसो स्थानहरुमा (मुख्यतया उपत्यकाहरूमा) प्रदूषण बढ्न गई पारदर्शिता पनि घटेको छ ।’

महाशाखाका अनुसार वायुमण्डल अझै केही दिनसम्म स्थिर रहने भएकाले सुधार आउन केही दिन लाग्नेछ । प्रदूषणले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या देखिने भएकाले सकभर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउन चिकित्सकहरूको सुझाव छ ।