३१ आश्विन २०८३, शनिबार

एकतामा जोड, अडान यथावत्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । एमालेको झलनाथ खनाल–माधव नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सकेसम्म पार्टीभित्रै बसेर संघर्ष गर्ने निष्कर्षसहित संसदीय दल बैठकमा सहभागी भएको छ । यसअघि ओलीले बोलाउने गरेका संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा सहभागी नभएको उक्त समूहले शुक्रबार बालुवाटारमै पुगेर आफ्नो मत राखेको छ ।

प्रधानमन्त्री ओली र असन्तुष्ट समूहले शुक्रबार बैठकमा राखेका अडान भने विगतमा भन्दा फरक खालका छैनन् । तर आ–आफ्ना असन्तुष्टि र विचार पार्टी कमिटीभित्रकै बैठकमा प्रस्तुत हुनुलाई दुवै पक्षका नेताहरूले ‘पार्टीभित्र मडारिएको कालो बादलमा चाँदीको घेरा’ का रूपमा बुझेका छन् । पार्टी विभाजनको खतरा भने अझै नटेरेको उनीहरूको भनाइ छ ।

ओलीका कदमविरुद्ध उत्रिइरहँदा खनाल–नेपाल समूहमा दुईखाले मत थिए– एउटा ओलीविरुद्ध आफ्नो शक्ति संगठित गर्ने र उनलाई झुकाउने । अर्को, पार्टी कमिटीहरूभित्रै बसेर उनीविरुद्ध संघर्ष गर्ने । बहस चर्किंदै गर्दा केही नेता ओली समूहमा सामेल हुन थाले । त्यसैले ओलीले बोलाएको बैठकमा जाने कि नजाने र स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने लामो बहस चल्यो । जुन बहसको निष्कर्षका रूपमा स्पष्टीकरण मागिएका नेताहरू नेपाल र भीम रावलले बिहीबार प्रतिप्रश्नसहितको जवाफ पठाएका थिए । शुक्रबार ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने कि नजाने भन्ने विषयमा खनाल–नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरूको छुट्टै बैठक बसेको थियो ।

बैठकमा अधिकांश नेताले केन्द्रीय कमिटीमा आफ्ना असहमति रहे पनि संसदीय दलमा जानुपर्ने मत राखेका थिए । धेरै नेताको जानुपर्ने राय आएपछि दिउँसो ३ बजेका लागि बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा नेताहरू बालुवाटार पुगेका थिए । नेता नेपाल र उपाध्यक्ष रावल भने संसदीय दलको बैठकमा गएनन् । नेता नेपालले आफू बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने भन्दै विशेषगरी बैठक स्थलबारे विगतमा जस्तै असहमति जनाए । अर्का नेता रावलले भने आफूमाथि स्पष्टीकरणका नाममा गम्भीर आरोप लगाइएकाले त्यसमा ओलीले माफी नमाग्दासम्म बैठकमा नजाने अडान लिए । अरू सांसद भने त्यहीँ गएर कुरा राख्ने निष्कर्षसहित बालुवाटार गए ।

बैठकको सुरुमै अध्यक्ष ओलीले यो बीचमा संसदीय दलको विधान संशोधन गरिएको, राष्ट्रिय सभा दलको नेतामा सुमन प्याकुरेललाई चयन गरिएको, मुख्य सचेतक विशाल भट्टराईलाई तोकिएको लगायतका विषयमा जानकारी गराएका थिए । उनले शुक्रबार बैठकमा ‘यसअघि भिन्न कुरा गरेर बैठकमा नआउनु भएका साथीहरू पनि आउनुभएको छ’ भन्दै खनाल–नेपाल समूहका सांसदहरूप्रति इंगित गरेका थिए । ओलीले त्यसपछि अब दललाई सहज र व्यवस्थित ढंगले अघि बढाउनुपर्छ भन्दै धारणा राखेका थिए । उनले खनाल–नेपाल समूहले राखेका माग पूरा हुन नसक्ने खालका रहेको स्पष्टै भनिदिए । ‘फागुन २३ गतेयता भएका पार्टीका निर्णयहरू उल्टाउन सकिँदैन,’ अध्यक्ष ओलीले बैठकमा भने ।

खनाल–नेपाल समूहले आफूहरूलाई जानकारी नै नदिईकन फागुन २८ मा बैठक बोलाएको र त्यो बैठकबाट गरिएका निर्णय खारेज हुनुपर्ने माग राख्दै आएको छ । फागुन २३ को फैसलाले एमालेलाई २०७५ जेठ २ को अवस्थामा पुर्‍याएकाले त्यहाँबाट सबै छलफल र पार्टीभित्रको संवाद सुरु हुनुपर्ने खनाल–नेपाल समूहको अडान छ । ओलीले उक्त अडानअनुसार जान नसकिने धारणा राखे । उनले नेता नेपाल र रावलले पठाएको स्पष्टीकरणको कुरा पनि उप्काए । स्पष्टीकरण पत्रमा नेता नेपाल र रावलले उल्टै ओलीमाथि प्रश्न गरेका छन् । उनीहरूले गरेको प्रश्न र उठाएका विषय कारबाहीयोग्य भएको ओलीले बैठकमा बताए । ‘स्पष्टीकरण एकदमै नकारात्मक ढंगले आएको छ । स्पष्टीकरण कारबाहीयोग्य छ,’ ओलीले बैठकमा भनेका थिए । उनले पार्टीभित्रका केही विषय र संसदीय दलभित्रका गतिविधिलगायतमा आपसी छलफल गर्दै मिलाएर जान सकिने धारणा राखेका थिए ।

ओलीले अडान राखेपछि बैठकमा वरिष्ठ नेता खनालले बोलेका थिए । उनले मुख्य रूपमा फागुन २८ मा गरेको भनिएका निर्णय उल्टाए पार्टी एकता जोगिने धारणा राखेका थिए । ‘विगतको एकतालाई जोगाउन हरसम्भव प्रयत्न गर्नुपर्ने थियो तर हामीले त्यसलाई जोगाउन सकेनौं, जेसुकै कारणले भए पनि क्षति भयो । पार्टी साविकको अवस्थामा फर्केपछि भने विधिमार्फत अघि बढ्नुपर्छ,’ खनालले बैठकमा भनेका थिए । उनले फागुन २८ को बैठक पार्टीको विधि पद्धतिविपरीत भएकाले त्यसलाई अध्यक्षले नै गम्भीर भएर सोच्नुपर्ने बताएका थिए । ‘२८ गतेको निर्णय कायम राखेर पार्टी एकताबद्ध बनाइराख्न गाह्रो पर्छ, त्यस निर्णयले विधिलाई समाप्त पारेको छ,’ उनले भनेका थिए, ‘कम्तीमा पार्टी जोगाउन औपचारिक बैठकमार्फत निकास खोज्नुपर्छ । यसतर्फ प्रधानमन्त्री गम्भीर हुनुपर्छ ।’ खनालले आफ्नो समूहको कुरा व्यवस्थित रूपमा राखेपछि धेरैजसो खनाल–नेपाल समूहकै नेताहरूले बोलेका थिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।